Sujang

डोटी प्रशासनको वार्षिक समीक्षा: ६८ लाखभन्दा बढी राजश्व, सेवा थप प्रविधिमैत्री

Ban

साउन १५ गते, डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन समीक्षा सार्वजनिक गर्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। बिहीबार कार्यालयको सभाहलमा आयोजित ‘पत्रकारसँग साक्षात्कार’ कार्यक्रममा शान्ति–सुरक्षा, सेवा प्रवाह, विपद् व्यवस्थापन तथा भूमि समस्या समाधानका क्षेत्रमा भएका उपलब्धि र आगामी रणनीतिबारे जानकारी गराइएको हो।

प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालका अनुसार गत आर्थिक वर्षमा नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाएको बताईन् । समीक्षा अवधिमा ८ हजार ६ सय १५ वटा नयाँ नागरिकता जारी गरिएको छ, जसमा आमाको नामबाट ४ र अदालतको आदेशबाट १ नागरिकता समावेश छन्।
त्यस्तै ६ हजार १ सय १२ प्रतिलिपि नागरिकता वितरण गरिएको छ। राहदानीतर्फ १ हजार ५ सय११ आवेदन दर्ता भई १ हजार ४ सय ९४ राहदानी वितरण गरिएको छ भने १६ हजार ३सय ३ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको कार्यालयले जनाएको छ। जिल्ला प्रशासनले राजश्व शंकलबाट ६८ लाख ६४ हजार ३ सय दस रुपैयाँ जम्मा गरिएको प्रजिअ नेपालले बताइन् ।

सेवा प्रवाहलाई सहज बनाउन नागरिकता प्रणाली पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको, पुराना अभिलेख डिजिटाइजेसन गरिएको तथा राहदानी सेवा घरदैलोमै उपलब्ध गराउन थालिएको प्रजिअ नेपालले बताईन्। राष्ट्रिय परिचयपत्र सेवा आइतबार पनि सञ्चालन गरिएको छ। सेवाग्राहीका लागि निःशुल्क सहायता कक्ष, निःशुल्क फोटोकपी सेवा, एकद्वार प्रणाली र दलित समुदायका लागि छुट्टै सम्पर्क डेस्कसमेत स्थापना गरिएको समेत उनले बताईन्।

Krishi

भूमि समस्या समाधान समितिले असार महिनादेखि जिम्मेवारी सम्हालेपछि जिल्लाभरका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न २०० दिने कार्ययोजना अघि सारेको जनाएको छ। हालसम्म ९ वटै स्थानीय तहबाट  भूमिहीन दलित,  भूमिहीन सुकुम्बासी र  अव्यवस्थित बसोबासी गरी कुल ३ हजार ६ सय ४१ निवेदन प्राप्त भएका छन्।
स्थानीय तहगत विवरणअनुसार जोरायल गाउँपालिकाबाट सबैभन्दा बढी १ हजार ३ सय११निवेदन दर्ता भएका छन् भने दिपायल सिलगढी नगरपालिकाबाट ९६ निवेदन परेका छन्। आठ वटा स्थानीय तहको विवरण प्रणालीमा प्रविष्ट भइसकेको र पूर्वीचौकी गाउँपालिकाको विवरण साउन २० गतेभित्र प्रविष्ट गरिसक्ने लक्ष्य राखिएको छ। समितिले जोरायल, सायल र दिपायल सिलगढीका फाइल अध्ययन गरिरहेको तथा केही निवेदनमा तीन पुस्ते विवरण र आवश्यक कागजात अपुग भएकाले मालपोत कार्यालयसँग भिडान गरी प्रमाणीकरण प्रक्रिया अघि बढाइने जनाएको छ।

विपद् व्यवस्थापनतर्फ जोरायल गाउँपालिकामा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ भने जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) २४सै घण्टा सञ्चालनमा रहेको जानकारी दिइएको छ।

यसैगरी सरकारी कार्यालयहरूको वर्षमा कम्तीमा तीन पटक अनुगमन गर्ने व्यवस्था गरिएको तथा खुटिया–दिपायल सडक, सरुवा रोग अस्पताल, पालिकास्तरीय अस्पताल र सेती नदी तटबन्धलगायतका ठूला आयोजनाको नियमित अनुगमन भइरहेको कार्यालयले जनाएको छ।

लागूऔषध नियन्त्रणका लागि सीमा नाकामा निगरानी कडा पारिएको, विद्यालय तथा कारागारमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र तीन महिने विशेष अभियान लागू गरिएको जानकारी दिइयो। साथै नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण, पुराना सरकारी सवारीसाधनको लिलामी तथा व्यवस्थापन प्रक्रिया पनि अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय डोटीले आगामी दिनमा अझ पारदर्शी, जवाफदेही र प्रविधिमैत्री सेवा प्रवाह गर्दै सर्वसाधारणका समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.