


सुबास नेपाली,डोटी, साउन १,:जिल्ला प्रशासन कार्यालय डोटीले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव तथा उपभोक्ताबाट मूल्य बढी लिइएको गुनासो बढेपछि ग्यास व्यवसायीहरूसँग छलफल गरेको छ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको संयोजकत्वमा आयोजित छलफलमा रेडियन्ट ग्यासका डिलर प्रतिनिधि केशव धामी, सैपाल ग्यासका डिलर प्रतिनिधि दिपेन्द्र केसी तथा भेरी ग्यासका डिलर प्रतिनिधि नवीन श्रेष्ठ सहभागी थिए। छलफलमा जिल्लामा देखिएको ग्यास अभाव, बिक्री मूल्य तथा ढुवानी व्यवस्थाबारे विस्तृत रूपमा समीक्षा गरिएको थियो।
नेपाल आयल निगमले ग्यासको प्रति सिलिन्डर मूल्य २ हजार ६० निर्धारण गरे पनि डोटीमा २ हजार २ सय सम्ममा बिक्री भइरहेको भन्दै उपभोक्ताले गुनासो गर्दै आएका छन्। यसबारे व्यवसायीहरूले निगमले तोकेको मूल्यमा ढुवानी र लोड–अनलोड खर्च थपिँदा बिक्री मूल्य बढ्न गएको बताएका छन्।
व्यवसायीका अनुसार ग्यास डिपोबाट डोटीसम्म ल्याउँदा प्रति किलो रु. ३ का दरले करिब रु. ५० ढुवानी खर्च, रु. २५ लोड–अनलोड खर्च तथा जिल्लाभित्र वितरणका लागि थप रु. ६५ ढुवानी खर्च लाग्ने भएकाले उपभोक्ताले तिर्नुपर्ने मूल्य करिब रु. २ हजार २ सय पुग्ने गरेको हो।
उनीहरूले नेपाल आयल निगमले ग्यास डिपोबाट ५० किलोमिटरसम्म निर्धारण गरिएको मूल्यमा ग्यास उपलब्ध गराउने व्यवस्था रहेको, तर सोभन्दा बढी दूरीमा ढुवानी गर्दा अतिरिक्त ढुवानी तथा लोड–अनलोड खर्च जोडिने नियम रहेको जानकारी दिएका थिए।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले निगमले तोकेको मूल्यमा वास्तविक ढुवानी तथा लोड–अनलोड खर्च जोड्दा डोटीमा बिक्री भइरहेको मूल्य करिब रु. २हजार २ सय पुग्ने देखिएको बताउनुभयो। साथै, उपभोक्तालाई अनावश्यक रूपमा बढी मूल्य नलिन, मूल्य सूची स्पष्ट रूपमा राख्न र ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायीहरूलाई निर्देशन दिनुभएको थियो।
जिल्ला प्रशासन कार्यालयले बजारको नियमित अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको हित संरक्षणका लागि आवश्यक कदम चाल्ने जनाएको छ।

