Sujang

३४ वर्षपछि घरघरमा शुद्ध खानेपानी, बगडाबासीमा खुसीको लहर

Ban

एकेन्द्र चन्द ,साउन १, डोटी – डोटीको बडिकेदार गाउँपालिका–३, बगडा गाउँमा ३४ वर्षको लामो प्रतीक्षापछि शुद्ध खानेपानी पुगेको छ। प्रदेश सरकारको सशर्त विशेष अनुदानमा बडिकेदार गाउँपालिकाले निर्माण गरेको खानेपानी योजनाबाट गाउँमा पहिलो पटक नियमित रूपमा धारा सञ्चालन भएपछि स्थानीयवासी हर्षित भएका छन्।

गाउँदेखि करिब १२ किलोमिटर टाढाको मुहानबाट पाइपमार्फत पानी ल्याइएको हो। बुधबार आयोजित उद्घाटन कार्यक्रममा बडिकेदार गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले चुनावका बेला गरेको प्रतिबद्धता पूरा गर्न पाएकोमा खुसी व्यक्त गर्दै खानेपानी योजनाको संरक्षण र दीगो व्यवस्थापनमा स्थानीयवासीको भूमिका महत्वपूर्ण रहने बताए।
“लामो प्रयासपछि बगडा गाउँमा शुद्ध खानेपानी पुर्‍याउन सफल भएका छौँ। अब यसको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी गाउँवासीकै हो,” अध्यक्ष साउँदले भने। उनले वर्षौँदेखि खानेपानीको अभाव झेलिरहेका बडिकेदारका अन्य बस्तीमा पनि यस्ता योजना विस्तार गरिने जानकारी दिए।

Krishi

गाउँपालिका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बगडाका स्थानीयले वर्षौँसम्म मानव र चौपायाले एउटै खाल्डोको पानी प्रयोग गर्नुपरेको अवस्था अन्त्य भएको बताइन्। जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर गाउँपालिकाले विकासका काम अघि बढाइरहेको उनको भनाइ थियो।
वडा नम्बर ३ का वडाअध्यक्ष रामबहादुर गुरुङले बगडामा खानेपानी पुर्‍याउने विषय विगतका प्रत्येक चुनावमा नेताहरूको चुनावी एजेन्डा बन्ने गरे पनि कार्यान्वयन हुन नसकेको स्मरण गरे। धेरै दौडधुप र अथक प्रयासपछि प्रदेश सरकारको सशर्त विशेष अनुदानमार्फत योजना सम्पन्न भएको उल्लेख गर्दै उनले सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।
“खानेपानीलाई चुनावी मुद्दा बनाउने तर जितेपछि फर्केर नआउने प्रवृत्तिका कारण बगडावासीले वर्षौँसम्म सास्ती भोग्नुपर्‍यो। अब घरघरमा धारा पुगेपछि त्यो पीडाको अन्त्य भएको छ,” उनले भने।
बगडा खानेपानी उपभोक्ता समितिका सचिव कृष्ण सापकोटाले गाउँमा खानेपानी पुगेपछि स्थानीयमा नयाँ आशा पलाएको बताए। खानेपानी अभावकै कारण धेरै परिवार बसाइँ सर्न बाध्य भएको उल्लेख गर्दै उनले सबै पक्षको संयुक्त प्रयासबाट योजना सफल बनेको बताए।
उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बमले खानेपानीका लागि मुहान उपलब्ध गराउने मल्लो घाङलका बासिन्दाप्रति विशेष धन्यवाद व्यक्त गरे। “हामी वर्षौँदेखि पानीको अभावले कष्टकर जीवन बिताइरहेका थियौँ। अहिले गाउँमै शुद्ध खानेपानी पुगेपछि दैनिक जीवन निकै सहज भएको छ,” उनले भने।

बडिकेदार गाउँपालिकाका प्राविधिक सागर मटेलीका अनुसार करिब ६० लाख रुपैयाँको लागतमा सम्पन्न भएको उक्त योजनाबाट बगडा गाउँका २४ र मल्लो घाङलका ७ गरी ३१ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

स्थानीयका अनुसार खानेपानी पुगेपछि दैनिक उपभोग मात्र नभई सरसफाइ, स्वास्थ्य सुधार र गाउँमा बसोबास टिकाइराख्न समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.