Sujang

संस्थागत सुत्केरी अभियानलाई चुनौती : डोटीमा ११ महिनामा ४३ बच्चा घरमै जन्मिए

Ban

असार ३१, डोटी : सरकारले पूर्ण संस्थागत सुत्केरी (स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउने) सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि डोटीमा घरमै सुत्केरी हुने चलन अझै रोकिएको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा जिल्लाका ४३ महिलाले घरमै बच्चा जन्माएका छन्।

स्वास्थ्य कार्यालय डोटीका अनुसार श्रावणदेखि जेठसम्मको अवधिमा नौ स्थानीय तहमध्ये पूर्वीचौकी गाउँपालिकामा सबैभन्दा बढी नौ जना महिलाले घरमै सुत्केरी भएका छन्। तीमध्ये वडा नं. ७ मा आठ जना र वडा नं. २ मा एक जनाले घरमै बच्चा जन्माएका हुन्।

Krishi

त्यसैगरी आदर्श गाउँपालिका र बडीकेदार गाउँपालिकामा आठ/आठ, सायल गाउँपालिकामा छ, दिपायल सिलगढी नगरपालिकामा चार, बोगटान फुड्सिल गाउँपालिकामा तीन, जोरायल र के.आई. सिंह गाउँपालिकामा दुई/दुई तथा शिखर नगरपालिकामा एक जना महिलाले घरमै बच्चा जन्माएको सोमबार स्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकारहरुसंग गरिएको अन्तक्रिर्या कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरिएको हो।

स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले स्वास्थ्य संस्था हुँदाहुँदै पनि महिलाहरू किन घरमै सुत्केरी भइरहेका छन् भन्ने विषयमा वार्षिक समीक्षा कार्यक्रममा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूसँग छलफल गरिने बताए।

उनका अनुसार जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकामै चार जना महिलाले घरमै बच्चा जन्माएका छन्। नगरपालिकाभित्र जिल्ला अस्पताल, तीन निजी अस्पताल र सात प्रसूति केन्द्र रहे पनि घरमै सुत्केरी हुने क्रम रोकिएको छैन।

प्रमुख जोशीले घरमै प्रसूति हुँदा आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पर्ने भएकाले स्वास्थ्य संस्थामै सुत्केरी गराउन सरकारले विशेष व्यवस्था गरेको बताए।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी कपिलदेव जोशीका अनुसार नयाँ मापदण्डअनुसार गर्भवती महिलाले आठ पटक गर्भ जाँच गराउनुपर्नेमा ४२ प्रतिशत महिलाले मात्रै पूरा जाँच गराएका छन्। त्यस्तै, प्रसूतिपछि चार पटक स्वास्थ्य जाँच गराउने महिलाको संख्या ४४ प्रतिशत मात्र रहेको उनले जानकारी दिए ।

अन्तक्रिर्या कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले स्वास्थ्य संस्था,निःशुल्क प्रसूति सेवा र प्रोत्साहन कार्यक्रम हुँदाहुँदै पनि डोटीमा ४३ जना घरमै सुत्केरी हुनु चिन्ताजनक अवस्था रहेकोे बताए।
कारण पहिचान गरी समाधानमुखी कार्यक्रममार्फत न्यूनीकरण गर्न आवश्यक देखिएको बताउँदै आमा र नवजात शिशुको सुरक्षाका लागि संस्थागत सुत्केरीलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवाला मिलेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.