Sujang

जातीय विभेद विरुद्धका धार्मिक अभियन्ता पन्तलाई दिसिनपाद्वारा सम्मान

Ban

असार ३१,डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाले जातीय विभेद उन्मूलनमा योगदान पुर्‍याएका अभियन्ता गणेश प्रशाद पन्तलाइ सम्मान गरेको छ ।

विगत २७ वर्ष देखि विभिन्न ठाउँमा हिन्दू धर्म र शास्त्रका आधारमा चेतना फैलाउँदै दलित परिवारमा पनि कर्मकाण्ड अथवा पुजापाठ गर्दै आएका पन्तलाई नगरपालिकाले मंगलबार सम्मान गरेको हो ।

नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले हिन्दू धर्मशास्त्र, वेद र पुराणहरूमा कतै पनि जातभातको व्यवस्था र विभेद नरहेको दाबी गरे । यदि जातीय विभेद कसैले गर्‍यो भन्यो त्यस्को विरुद्ध कडा कानुनी कारबाही गर्नुपर्ने उनको भनाइ थियो ।

 

पन्तले शिल्पकार (दलित) समुदायको हक र अधिकारको कुरा उठाउँदै जन्मदेखि मृत्युसम्मका सम्पूर्ण कर्मकाण्ड, व्रतबन्ध, र विवाह जस्ता संस्कारहरू सबैले समान रूपमा पाउनुपर्नेमा जोड दिए । शिल्पकार समुदायमा कसैको मृत्यु हुँदा मलामी जाने मानिस नभएका खण्डमा आफूहरूले काँध हालेर मसानघाटसम्म पुर्‍याएको र सन्तान नभएकाहरूको क्रिया समेत बस्न तयार रहेको उनले उल्लेख गरे ।

Krishi

 

उनले अगाडि थपे, “अहिले कथित उपल्लो वर्गका ब्राह्मणहरूले मात्र कर्मकाण्ड गर्ने जुन चलन छ, त्यो शिल्पकार, विश्वकर्मा र क्षेत्री समुदायले पनि गर्न पाउनुपर्छ। क्षेत्री समुदायलाई समेत ब्राह्मणहरूले गलत तरिकाले गायत्री मन्त्र सिकाएको र धर्मशास्त्रको गलत व्याख्या गरेको छ ।”

 

अभियन्ताले समाजमा विभेद गर्ने, मानिसहरूलाई अपमान गर्ने र पछि पैसा दिएर वा माफी मागेर मुद्दा मिलाउने प्रवृत्ति बन्द हुनुपर्ने माग गरे । कानुन र धर्मशास्त्रको नियम उल्लंघन गरी विभेद गर्ने जुनसुकै व्यक्तिलाई कडा कारबाहीका साथै देश निकाला सम्मको सजाय हुनुपर्ने उनको जिकिर थियो ।

दलित समुदायको लागि जन्मदेखि मृत्यु सम्म सम्पूर्ण बैदिक हिन्दु सनातन धर्म भित्रका सम्पूर्ण धार्मिक, साँस्कृतिक तथा सामाजिक सशक्तिकरणका क्षेत्रमा उनले पु-याएको समावेशीमुलक उल्लेखनीय योगदान, समर्पण र सेवाभावको अतुलनिय कार्यको उच्च कदर गर्दै पन्तलाई सम्मान-पत्र प्रदान गरिएको नगर प्रमुख बाजि सिंह खड्काले बताए ।

सामाजिक समानता, सद्‌भाव तथा समावेशीमुलक समाज निर्माणमा पन्तको निरन्तर प्रयास आगामी दिनमा अझ बढी सफल प्रेरणादायी र प्रभावकारी बनोस भनेर सम्मान गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर सुचिकारले बताए ।

सम्मान कार्यक्रममा उपस्थित नगर प्रमुख खड्का, उपप्रमुख कलावती महर साउद, प्रमुख प्रशासकीय अधिकृत दामादोर भण्डारी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरूलाई धन्यवाद दिँदै उनले पण्डितको वास्तविक लक्षण नै सबैलाई समान भावले हेर्नु रहेको बताए । उनले सम्पूर्ण समाजलाई धूम्रपान र मध्यपान रहित, अर्थात् नशामुक्त बनाउँदै सबैको अधिकार सुनिश्चित गर्न अपिल समेत गरेका छन ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.