
बडिकेदारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न ः सुशासन र पारदर्शीतामा पालिका अब्बल रहेको अध्यक्ष साउँदको दावी

असार ३० ,बडिकेदार (डोटी) :डोटीको बडिकेदार गाउँपालिकामा मंगलबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बडिकेदार गाउँपालिकाको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८२÷०८३ मा पालिकाबाट प्रवाह भएका सेवा तथा विकास निर्माणका गतिविधिहरु, सुशासन कायम गर्न र कर्मचारी र जनप्रतिनिधिलाई उत्तरदायी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रममा बडिकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउँद, उपाध्यक्ष डम्मरी बिष्ट कलेल, प्रमुख प्र्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्ट, इन्जिनियर दीपक बम तथा वडा नम्बर १ का वडा अध्यक्ष डबलबहादुर बोहरा र वडा नम्बर ४ का वडाअध्यक्ष कर्णबहादुर जेठाराले कार्यक्रमका सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए । कार्यक्रममा वडाअध्यक्षहरु, कार्यालयका विषयगत शाखाका प्र्रमुखहरु, कार्यपालिका सदस्य, राजनीतिक दल, नागरिक समाज, शिक्षक, वुद्धिजिवी, सुरक्षाकर्मी, सर्वसाधारणलगायतको सहभागिता रहेको थियो ।
अधिकांश सहभागीहरुले कार्यालयको सुशासन, विकासका गतिविधिहरु न्यायीक प्रक्रिया, भौतिक विकासका सवालमा प्रश्न उठान गरेका थिए ।
प्रश्नहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष भैरवबहादुर साउँदले बडिकेदार गाउँपालिका सुशासन, पारदर्शीता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वमा अब्बल रहेको बताए । उनले भने,‘हामी खुल्ला किताब हौ, पालिकाले सार्वजनिक सेवा प्रवाहमा गरेका काम कारवाही खुलस्त पारेका छौं ।’ उनले आफू निर्वाचित भएर आइसकेपछि संघीय र प्रदेश सरकारसँग समन्वय गरेर यहाँको भौतिक निर्माणदेखि सडक सञ्जालसम्मका काम गरेको बताए ।
उनले भने,‘ मैले निर्वाचनमा बडिकेदार गाउँपालिकाका आम मतदातासँग गरेका वाचा अनुसारका काम गरिसकेको छु ।’
कार्यक्रममा आफूहरुले पारदर्शीरुपमा काम गरिरहेको र जनताका गुनासो, समस्यालाई समाधान गर्न जुनसुकै बेला तयार रहेको गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायीक समिति संयोजक डम्मरी बिष्ट कलेलले बताइन् । यस्तै कार्यक्रममा बडिकेदार गाउँपालिकामा काम गर्न कर्मचारीलाई सहज रहेको र सेवाग्राहीलाई सेवा गर्न कर्मचारी तत्पर रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए ।
कार्यक्रममा वडा नम्बर ४ का बलबहादुर बुढामगर, वडा नम्बर ४ का खडकबहादुर मौनी, वडा नम्बर ३ का सिद्धराज बिष्ट, वडा नम्बर ४ का खेम कडायत, वडा नम्बर ४ का खेमबहादुर बिठाडी, शिक्षक नवराज जोशी, वडा नम्बर १ का वीरबहादुर कलेल, वडा नम्बर ५ का गणेश जोशीलगायतले सार्वजनिक सुनुवाई कार्यक्रममा प्रश्न गरेका थिए । उनीहरुको प्रश्नको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा सम्बन्धित फाँटका कर्मचारीले जवाफ दिएका थिए ।

