

असार २८ गते ,डोटी : डोटी जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
“स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता–हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ आईतवार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । जिल्लाका नौवटै पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भईसकेपछि जिल्लास्तरीय घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए । उनले यस आर्थिक बर्षमा जिल्लाका १६ देखि ५९ महिना उमेर समुहका नौ हजार एक सय ६३ बालबालिकामध्ये नौ हजार ९५ बालबालिकालाई पूर्ण खोप लगाइएको वताए ।
६७ जना बालबालिका भने पूर्ण खोपबाट ड्रप आउट (सुविधाबाट छुट) हुन पुगेको उनले बताए । जसमा सायल गाउँपालिकाका २२, आदर्श गाउँपालिकाका ११, दिपायल सिलगढी नगरपालिकाका ८, जोरायल गाउँपालिकाका ७ र बोगटान फुड्सिल गाउँपालिकाका ६ जना बालबालिका ड्रप आउट रहेका छन् । त्यस्तै के.आई.सिंह गाउँपालिकाका ५, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाका ३/३ तथा बडिकेदार गाउँपालिकाका २ जना बालबालिका ड्रप आउट रहेका छन् ।

घोषणा कार्यक्रममा स्वयंम सेविका,खोप कार्यकर्ता ,नौ वटै स्थानीय तहका स्वास्थ शाखा प्रमुख ,जिल्ला अस्पताल र स्थानीयतहलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहको अध्यक्षतामा गरिएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा कार्यक्रममा जनप्रतिनिधि ,सरकारी तथा गैर सरसंघ संस्था प्रमुख, प्रतिनिधि, स्वास्थकर्मी, पत्रकार लगायतको उपस्तिथि रहेकोे थियो ।

