

धन बहादुर बोहरा ,असार २४ गते :डोटीको सायल गाउँपालिका–१ का वडा अध्यक्ष लालबहादुर रोकाया र वडा प्रहरी कार्यालय छपालिका इन्चार्ज प्रेम पालमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लागेको छ।
स्थानीय कर्ण रोकायाले वडा अध्यक्ष रोकाया र वडा प्रहरी इन्चार्ज पालले आफूलाई कुटपिट तथा दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रशासन कार्यालय डोटीमा निवेदन दिएका छन्।

प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरिएको निवेदनमा रोकायाले वडा अध्यक्ष रोकाया र वडा प्रहरी इन्चार्ज पालको संलग्नतामा आफूमाथि कुटपिट भएको, मानसिक तनाव सिर्जना गरिएको तथा ज्यान सुरक्षामा समेत खतरा उत्पन्न भएको दाबी गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।
निवेदनमा पीडितले उक्त घटनाका कारण आफू र आफ्नो परिवार त्रसित बनेको उल्लेख गर्दै सम्बन्धित निकायबाट सुरक्षा र न्यायको अपेक्षा गरेको बताएका छन्। साथै घटनाबाट भएको क्षतिको उचित मूल्याङ्कन गरी आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न समेत माग गरिएको छ।
यता, आरोपबारे प्रतिक्रिया दिँदै वडा अध्यक्ष लालबहादुर रोकायाले घटनामा आफू संलग्न नरहेको र आफूमाथि लगाइएका आरोपमा सत्यता नभएको बताएका छन्। उनका अनुसार साउन १७ गते राति निवेदक कर्ण रोकायाले मदिरा सेवन गरी आफूलाई गालीगलौज गरेपछि १८ गते वडा प्रहरी कार्यालयमा निवेदन दर्ता गरिएको थियो। त्यसपछि वडा प्रहरी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दुवै पक्षबीच छलफल गराई मिलापत्र गरिएको उनले बताए।
त्यसैगरी वडा प्रहरी इन्चार्ज प्रेम पालले पनि आफूले कर्ण रोकायामाथि कुनै प्रकारको कुटपिट, यातना वा दुर्व्यवहार नगरेको दाबी गरेका छन्। उनले घटनालाई सहमतिमै समाधान गरिएको र आफूमाथि लगाइएका आरोप निराधार रहेको बताएका छन्।
घटनासम्बन्धी निवेदन जिल्ला प्रशासन कार्यालय डोटीमा दर्ता भइसकेको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सागर बोहराले जानकारी दिएका छन्। उनले प्राप्त उजुरीका आधारमा तथ्यगत अनुसन्धान अगाडि बढाइएको र अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए।

