

असार १६,डोटी :दिपायल सिलगढी नगरपालिकाको आयोजनामा “महिला उद्यमी उत्पादित वस्तु प्रदर्शनी मेला–२०८३” दिपायल सिलगढी नगरपालिका–४ पिपल्लामा सम्पन्न भएको छ। मेलाको उद्देश्य महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय वस्तुको प्रवर्द्धन, बजार पहुँच विस्तार, उद्यमशीलताको विकास तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ।
मेलामा नगरभित्रका महिला उद्यमी समूहले उत्पादन गरेका कृषि उपज, हस्तकला, वडा नं. कपास खेतीबाट उत्पादन गरिएका सिरक, डस्ना, तकिया, होजियारी सामग्री तथा अन्य स्थानीय उत्पादनहरू प्रदर्शनमा राखिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बाजी सिंह खड्काले नगरको समृद्धिको आधार कृषि नै भएको उल्लेख गर्दै कपास खेती विस्तारमार्फत बाहिरिने पूँजी रोक्ने लक्ष्य रहेको बताउनुभयो।

वार्षिक रूपमा ठूलो परिमाणमा कपडा आयात हुँदा स्थानीय पूँजी बाहिरिने अवस्थालाई रोक्न प्रत्येक वडामा कपास खेती विस्तार गर्ने आफ्नो योजना रहेको र महिला समूहले उत्पादन गरेका कपासजन्य सामग्रीले उक्त सपना साकार पार्ने दिशामा महत्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो।
जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले महिला समूह र सञ्जालमार्फत उत्पादन गरिएका सामग्रीले स्थानीय महिलाको आत्मनिर्भरता बढाएको भन्दै नगरपालिकाको प्रयासको प्रशंसा गर्नुभयो।
नगरपालिकाकी उपप्रमुख कलावती महरा साउदले विभिन्न वडाका महिला समूहले उत्पादन गरेका सामग्री गर्व गर्नलायक रहेको बताउँदै इच्छा शक्ति, मेहनत र उद्यमशीलताकै परिणामस्वरूप आज ती उत्पादन प्रदर्शनीमा राख्न सम्भव भएको बताउनुभयो।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले प्रदर्शनीमा राखिएका सामग्रीको अवलोकन गर्दै स्थानीय उत्पादनको गुणस्तर र बजार प्रतिस्पर्धात्मक क्षमतामा थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। उहाँले उद्यम सञ्चालन गर्दा समूह वा सहकारीमार्फत अघि बढे जोखिम व्यवस्थापन, उत्तरदायित्व र दिगोपन बढ्ने उल्लेख गर्नुभयो।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा समूहलाई सम्मान गरिएको थियो भने महिला उद्यमी समूहहरूलाई आवश्यक उपकरण पनि वितरण गरिएको थियो।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको उक्त मेला आसमान नेपाल तथा संयुक्त राष्ट्रसंघीय निकायको सहयोगमा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमको सहकार्यमा आयोजना गरिएको थियो।

