

जेठ २९ गते ,डोटी: डोटीको शिखर नगरपालिकामा स्थानीय खेलाडीहरूको प्रतिभा पहिचान र खेलकुद विकासको लक्ष्यसहित ‘प्रथम उपमेयर कप फुटबल प्रतियोगिता’ सुरु भएको छ ।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, कर्मचारी, खेलाडी र खेलप्रेमी दर्शकहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व ग्रहण गर्दै शिखर नगरपालिकाका उपप्रमुख सुनिता रावल जोराले नगरपालिका भित्रका खेलाडीहरूलाई अगाडि बढाउने र उनीहरूको प्रतिभालाई प्रस्फुटन गराउने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको बताइन् ।
आगामी दिनमा महिला खेलाडीहरूका लागि पनि वडा स्तरीय विधागत खेलहरू आयोजना गरिने उनले घोषणा गरिन् ।
समारोहका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले खेलकुदमा अनुशासनको ठुलो महत्त्व हुने बताए ।
उनले खेल र मैदानमा खेलाडीहरूको वास्तविक गहना भनेकै अनुशासन भएको बताउँदै सबै खेलाडीहरूलाई खेल भावनाको कदर गर्दै अनुशासित भएर आ-आफ्नो खेल प्रदर्शन गर्न आग्रह गरे ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं शिखर नगरपालिकाका प्रमुख दिर्घ बहादुर बलायरले नगरपालिका भित्र नयाँ-नयाँ खेलाडीहरू उत्पादन गरेर पालिकालाई विश्वभर चिनाउनका लागि नगरपालिकाले वर्षेनि यस्ता खेलहरू खेलाउँदै आइरहेको बताए।
उनले आगामी दिनमा पनि विभिन्न विधाका खेलहरूको आयोजना गरेर खेलाडीहरूको मनोबल र क्षमतालाई उच्च बनाउने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला समन्वय उप प्रमुख स्मृति चुनाराले खेलमा भाग लिएका सबै खेलाडीलाई सफलताको शुभकामना सँगै आगामी खेलकुद भविष्यको पनि शुभकामना दिइन् ।
उद्घाटन समारोहमा शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बुढा, वडाका वडा अध्यक्षहरू, कार्यवाहक वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, खेलाडीहरू र खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो।
प्रथम उपमेयर कपमा नगर भित्रका कुल १० वटा टिमहरूले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन्।प्रतियोगिताको प्रथम पुरस्कार विजेताले ७५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने द्वितीय पुरस्कार विजेताले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसका साथै विधागत तर्फ प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने उत्कृष्ट खेलाडी, सबैभन्दा बढी गोल गर्ने उत्कृष्ट गोलकर्ता र खेल अवधिभर उत्कृष्ट अनुशासन कायम राख्ने अनुशासित टिमलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगिता ३ दिनसम्म चल्ने छ ।

