Sujang

आगलागीपीडित परिवारलाई बीमा दाबीबापत ६ लाख ७३ हजार २ सय रुपैयाँ राहत रकम हस्तान्तरण

Ban

जेठ २८ गते,डोटी: डोटीमा आगलागीपीडित परिवारलाई बीमा दाबीबापत ६ लाख ७३ हजार २ सय रुपैयाँ राहत रकम हस्तान्तरण गरिएको छ ।
दिपायल सिलगढी नगरपालिका – ६ जिप्रका नजिक रहेको देउराली मम सेन्टरकी संञ्चालीका झरना बिष्टलाई मम सेन्टरमा आगलागीबाट भएको क्षतिको राहतस्वरूप ग्लोबल आइएमई बैंक लिमिटेडको समन्वयमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड, दिपायल शाखा (SALICO) ले ६ लाख ७३ हजार दुई सय रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

बिष्टले नयाँ व्यवसाय सञ्चालन गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंक लिमिटेड, पिपल्लाबजार शाखाबाट महिला उद्यमी कर्जा लिएकी थिइन्। उक्त कर्जा अन्तर्गत व्यवसायमा प्रयोग हुने स्टक तथा मेसिनरी सामग्रीहरू ग्लोबल आइएमई बैंकको समन्वयमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडबाट बीमा गरिएको थियो।

गत वैशाख ६ गते देउराली मम सेन्टरमा भएको आगलागीका कारण व्यवसायमा ठूलो क्षति पुगेको थियो। घटनापछि डोटी उद्योग वाणिज्य संघ, हाेटल ब्यवसायी संघ लगायतका संघसंस्था घटनास्थल पुगेर क्षतिको अवलोकन गर्नुका साथै पीडित व्यवसायीलाई आवश्यक सहयोग प्रदान गरेका थिए।

Krishi

उक्त जानकारी ग्लोबल आइएमई बैंक लिमिटेड, पिपल्लाबजार शाखाका शाखा प्रबन्धक कविराज भट्टसम्म पुगेपछि उनले व्यवसायमा गरिएको बीमाबारे जानकारी गराउँदै आगलागीबाट भएको क्षतिको राहत बीमा दाबीमार्फत प्राप्त हुने विश्वास दिलाएका थिए। त्यसपछि शाखा प्रबन्धक भट्टले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी दीपायल शाखा संग आवश्यक समन्वय गरी दाबी प्रक्रियालाई अगाडि बढाएका थिए।

हस्तान्तरण कार्यक्रममा डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष आई जंग कुँवर, ग्लोबल आइएमई बैंक लिमिटेड पिपल्लाबजार शाखाका शाखा प्रबन्धक कविराज भट्ट, कृषि विकास बैंकका शाखा प्रबन्धक राम ऐर, डाेटि चेम्बर अफ कमर्शका उपाध्यक्ष नवीन श्रेष्ठ, तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक राजु घले तथा हिक्मत भण्डारीको उपस्थितिमा बिष्टलाई बीमा दाबी रकम हस्तान्तरण गरिएको हो।

व्यवसाय संञ्चालनमा बीमाको महत्त्वबारे प्रकाश पार्दै विपद् तथा आकस्मिक घटनाबाट हुने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न बीमाले महत्वपूर्ण भूमिका खेल्ने घलेले बताए । बैंक,बीमा कम्पनी तथा व्यवसायिक समुदायबीचको प्रभावकारी समन्वयले पीडित उद्यमीलाई पुनः व्यवसाय सञ्चालन गर्न महत्वपूर्ण सहयोग पुगेको उद्योग वाणिज्य संघका काेषाध्यक्ष कुँवरले बताए ।

बीमा दाबी बापत प्राप्त उक्त रकमले पुन सञ्चालन तथा व्यवसाय पुनर्स्थापनामा महत्वपूर्ण सहयोग पुग्नुका साथै आत्मबल बढेको संचालक लक्ष्मण बिष्टले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.