

जेठ १४ गते,डोटी : डोटीको के.आई.सिंह गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। पालिका अन्तर्गतका सात वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार खोप दिएसँगै गाउँपालिकाकालाई बिहीवार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा निर्देशिका बमोजिम आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिएको छ। गाउँपालिकाका सात वटै वडामा घरदैलो सर्वेक्षणमार्फत १५ देखि ५९ महिनाका १००७ जना बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न भएसँगै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
राष्ट्रिय खोप कार्यक्रम अनुसार १५ महिनाभित्र पूरा गर्नुपर्ने सबै खोप पूरा गरेसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नवीन माझीले जानकारी दिनुभयो।

त्यस अवसरमा जिल्ला खोप समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीलाई प्रमाणीकरण पत्र प्रदान गर्नुभयो।

गाउँपालिका अध्यक्ष शाहीले पालिकामा रहेका सात वटै वडाका स्वास्थ्य संस्था प्रमुखहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो।
पूर्णखोप र पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणासम्मको अवस्थामा ल्याउन मिहिनेत गर्ने सबैलाई अध्यक्ष शाहीले धन्यवाद दिनुभयो।
गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना बिष्ट, स्वास्थ्य कार्यालयका प्रमुख डिल्लीरमन जोशी , वडा अध्यक्ष कृष्ण बम, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश बमले शुभकामना मन्तव्य राखेका थिए ।
यश अघि जिल्लाका सायल गाउँपालिका र पुर्बी चौकीगाउँ पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा भइ सकेका छन् ।

