

जेठ १३ गते ,डोटी,एकेन्द्र चन्द : जिल्लाको बडीकेदार गाउँपालिकामा वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुरक्षित वैदेशिक रोजगारी तथा सही सूचना प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बडीकेदार गाउँपालिकाका रोजगार संयोजक चक्र बहादुर कलेलले बताउनु भयो ।
रोजगार सेवा केन्द्र, बडीकेदार गाउँपालिका खड्यौली डोटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई श्रम स्वीकृति, वैदेशिक रोजगारका कानुनी प्रक्रिया, सीप तथा दक्षताको महत्व, ठगीबाट बच्ने उपाय, तथा सुरक्षित वैदेशिक रोजगारसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

“स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीका लागि जाने नै भए, सही सूचना लिएर मात्र जाऔं” भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा स्थानीय युवाहरुको सहभागिता रहेको थियो।
वैदेशिक रोजगारीमा जाने नागरिकले अनिवार्य रूपमा आधिकारिक प्रक्रिया अपनाउन तथा सही सूचना लिएर मात्र विदेश जान बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरब साउदले बताउनु भयो ।
काम नसिकेर वा नबुझेर बिदेश जादा धेरै जनाले अनाहकमा दुख पाउने हुँदा सबै कुराहरु बुझेर बिदेश जानुपर्ने उहाँले बताउनु भयो ।

