

एकेन्द्र चन्द ,चैत २८,डोटी : डोटीको बडिकेदार गाउँपालिकामा करवि दुईमहिना देखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएका कारण योजना स्वीकृति, बजेट निकासा, सिफारिस तथा अन्य अत्यावश्यक सेवा प्रवाहमा ढिलाइ भइरहेको स्थानीयले गुनासो गरेका छन्।

गाउँपालिकाका कर्मचारीहरूका अनुसार महत्त्वपूर्ण फाइलहरू निर्णयको प्रतीक्षामा थन्किएका छन् भने विकास निर्माणसम्बन्धी काम समेत सुस्त बनेको छ। सेवाग्राहीहरू सानो कामका लागि पनि पटक–पटक कार्यालय धाउन बाध्य भएका छन्।
मिति २०८२/१२/१९ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शाखा अधिकृत डिल्लि राम भट्ट लाई सिफारिस गरेपनि कार्यालयमा हाजिर नभएकाे बडिकेदार गाउँपालिकाले जानकारि दिएकाे छ।
यहाँका नागरिकले नेपाल सरकारलाई छिटै प्रमुख प्रशासकिय अधिकृत पठाउन माग गरेका छन्। “गाउँपालिकामा प्रसासकिय अधिकृत नहुँदा सेवा लिन निकै समस्या भइरहेको छ,” एक सेवाग्राहीले भने।
जनप्रतिनिधिहरूले पनि हाकिम अभावले प्रशासनिक समन्वय कमजोर बनेको स्वीकार गरेका छन्। उनीहरूले छिटो समाधानका लागि सम्बन्धित निकायसँग पहल भइरहेको बताएका छन्।
हाकिमको अभाव लम्बिँदै जाँदा विकास योजनाहरूमा ढिलाइ हुने र जनताले पाउने सेवा अझ प्रभावित हुने चिन्ता बढ्दै गएको छ।

