

चैत २४,डोटी — “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम–२०८२ डोटीमा सम्पन्न भएको छ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी कैलालीको विशेष सहयोगमा चैत्र २० गतेदेखि २४ गतेसम्म डोटीको बडीकेदार गाउँपालिका–१, बिपिनगरमा तालिम सञ्चालन गरिएको थियो।
अखिल नेपाल कबड्डी संघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश कबड्डी संघको समन्वय तथा डोटी जिल्ला खेलकुद समिति, सिलगढीको आयोजनामा भएको उक्त तालिममा सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाबाट ३० जना सहभागी भएका थिए।

तालिमको उद्घाटन सुदूरपश्चिम प्रदेश कबड्डी संघका अध्यक्ष तथा भीमदत्त नगरपालिका–१० का वडा अध्यक्ष महेश चन्दको प्रमुख आतिथ्यतामा गरिएको थियो। उद्घाटन कार्यक्रममा उनले कबड्डी खेलले देशलाई धेरै पदक दिलाउन सक्ने क्षमता राखे पनि आवश्यक प्राथमिकता नपाएको बताए। उनले खेलमा अनुशासनलाई सबैभन्दा महत्वपूर्ण पक्षका रूपमा जोड दिए।
कार्यक्रममा अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्द कुमार झाले कबड्डी खेलमा दक्ष निर्णायकको अभावले विभिन्न समस्या देखिएको उल्लेख गरे। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत कबड्डी समावेश भइसकेको अवस्थामा विवाद न्यूनीकरणका लागि यस्ता तालिम आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रमको सभापतित्व प्रकाश शाहीले गरेका थिए।
तालिमको समापन सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्का (रवि)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उनले खेलकुद विकासका लागि दक्ष निर्णायक अपरिहार्य रहेको उल्लेख गर्दै कबड्डीको भविष्य उज्ज्वल रहेको बताए।
पाँच दिनसम्म सञ्चालन भएको तालिमबाट प्रदेशमा दक्ष कबड्डी निर्णायक उत्पादन भई खेलको विकास र विस्तारमा टेवा पुग्ने आयोजकले विश्वास व्यक्त गरे ।

