


एकेन्द्र चन्द,डोटी : आगलागीका कारण डोटीमा ६ हजार कागतीका बिरुवा नष्ट भएका छन्। बडीकेदार गाउँपालिका–२ खरहरस्थित करन साउँदको कागती बारीमा आगलागी भएको हो।
साउँद कृषि, पशुपक्षी तथा मत्स्य पालन फार्ममा आगलागी हुँदा ६६ रोपनी जमिनमा लगाइएका १० हजार कागतीका बिरुवामध्ये करिब ६ हजार बिरुवा जलेर नष्ट भएका छन्। आगलागी कसले गराएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२०७७ सालमा स्थापना गरिएको उक्त फार्ममा रोपिएका कागतीका बिरुवा फल्न तयार अवस्थामा रहेका थिए। सुन कागती–१ र सुन कागती–२ जातका बिरुवा पोहोर सालदेखि फल दिन सुरु गरेका थिए।
आगलागीका कारण वर्षौंको मेहनत खरानी भएको भन्दै फार्म सञ्चालक करन साउँदले दुःख व्यक्त गर्नुभयो। उहाँले आगो लगाउने व्यक्तिविरुद्ध प्रहरीमा निवेदन समेत दिएको जानकारी दिनुभयो।

