Sujang

नेपालमा पहिलोपटक ‘अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ’ प्रतियोगिता शुरु

Ban

चैत ९ गते ,डोटी : नेपालमा पहिलोपटक ‘सेती–कर्णाली अन्तर्राष्ट्रिय महाशिर एङ्गलिङ च्यालेन्ज प्रतियोगिता’ सुरु भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनात्मक सहयोगमा बोगटान फुड्सिल गाउँपालिकाको आयोजना तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मोहन्याल गाउँपालिका कैलाली, ठाकुर बाबा नगरपालिका बर्दिया, पञ्चपुरी गाउँपालिका सुर्खेतलगायतको प्रायोजनमा प्रतियोगिता सुरु भएको हो।

आइतबारदेखि सुरु भएको प्रतियोगिता यही चैत १८ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताअन्तर्गत सोमबार डोटीको दिपायलस्थित सेती नदीबाट जलयात्रा सुरु भई अप्रिल १ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक देवराज जैसिले जानकारी दिए।
प्रत्येक समूहका सहभागीहरूले सबैभन्दा ठूलो महासेर माछा समात्नुपर्ने छ र समातिएको माछालाई पुनः नदीमै छोड्ने व्यवस्था गरिएको संयोजक जैशीले बताए ।
प्रतियोगितामा सबैभन्दा लामो माछा समाउनेलाई नगद रु २५ हजार र शिल्ड पुरस्कारको व्यवस्था रहेको उनले बताए।

प्रतियोगितामा नेदरल्यान्ड, बेलायत, फिनल्यान्ड, जापान, मलेसिया, थाइल्यान्ड, भारत र नेपालका गरी २५ जनाको सहभागिता रहेको छ । संयोजक जैसिका अनुसार प्रतियोगीलाई चारवटा समूहमा विभाजन गरिएको छ ।

Krishi

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले प्रतियोगिताले यहाँको जल पर्यटन सम्भावनाको उजागर गर्ने बताए । उनले भने, “विशेषगरी हिउँदको समयमा र्‍याफ्टिङ गरेर साहसिक अनुभूति लिन पर्यापर्यटनका क्रियाकलाप हुन्छन्, यसले स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ । यसलाई संस्थागत रूपमा विकास गर्न सके सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्नेछ ।”

पर्यटन पुनः उत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रातर्फ आकर्षित गरी रोजगार सिर्जना गर्नु कार्यक्रम मुख्य उद्देश्य रहेको उनले बताए ।

यस्ता किसिमका जलयात्राले यस क्षेत्रमा रहेको सम्भाव्यताको उजागरसँगै मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्न मद्दत मिल्ने अपेक्षा गरिएको समेत उनलेे बताए ।

बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले यहाँको सम्भावनालाई उजागर गरी नागरिकलाई लाभ मिलोस् भन्ने उद्देश्यसहित नेपालमै पहिलोपटक यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताए ।

उनले भने, “यो प्रतियोगिताले नेपालको जल पर्यटनमा थप टेवा पुर्‍याउने छ भने त्यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पर्नेछ । यस प्रतियोगितामा सहभागी भएकाहरूले यहाँका सकारात्मक पक्षलाई आफ्नो देशमा प्रचार गर्नेछन् ।”

नेपालमै पहिलो पटक आयोजना गरिएको यस प्रतियोगिताबाट जल पर्यटनमा उल्लेखनीय वृद्धि हुनुका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको पर्यटन ब्ययसायी दिपक बहादुर खड्काले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.