


माघ २१ गते ,डोटी :लागुऔषध मुक्त प्रदेश निर्माण गर्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश युवा परिषद्को आयोजनामा तथा पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको सहकार्यमा प्रदेश स्तरीय लागु औषध विरुद्धको अभियान तथा अभिमुखीकरण कार्यक्रम सिलगढीमा सम्पन्न भएको छ।
बुधबार दिपायल सिलगढी नगरपालिका–६ स्थित पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयको सभाहलमा “लागु औषध मुक्त प्रदेश : हाम्रो अभियान, हाम्रो पहिचान” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्षण सिंहले पछिल्लो समय भुसको आगोझैँ फैलिँदै गएको लागु औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै जिल्लाका सबै स्थानमा निरन्तर, प्रभावकारी र सशक्त अभियान आवश्यक रहेको बताउनुभयो।
प्रदेश युवा परिषद्का कार्यकारी सदस्य गजेन्द्र सावदले “लागु औषधले शरीर मात्र होइन, सपना र भविष्यसमेत नष्ट गर्छ” भन्दै यो समस्या कुनै एक व्यक्ति वा परिवारमा सीमित नरही समग्र समाज र राष्ट्रकै चुनौती बन्दै जान सक्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउदले बेरोजगारी, निराशा, गलत संगत, पारिवारिक बेवास्ता तथा मानसिक स्वास्थ्यप्रति उदासीनता दुर्व्यसन बढ्नुका प्रमुख कारण रहेको बताउनुभयो।
कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले विशेषगरी युवा पुस्ता बढी जोखिममा रहेको उल्लेख गर्दै “आजको दुर्व्यसन भोलिको अपराधको बीउ हो” भन्दै समयमै रोकथाम र सचेतना नअपनाए यसको गम्भीर मूल्य समाजले चुकाउनुपर्ने चेतावनी दिनुभयो।
वक्ताहरूले दुर्व्यसनी अपराधी नभई उपचार, सहानुभूति र पुनर्स्थापनाको आवश्यकता पर्ने नागरिक भएको सन्देश दिँदै घृणा र दण्डभन्दा उपचार, सहयोग र पुनर्स्थापनाबाट मात्र नशामुक्ति सम्भव हुने कुरामा जोड दिएका थिए।
विद्यालय तहदेखि नै सचेतना आवश्यक रहेको उल्लेख गर्दै पद्म पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले अभिभावक र बालबालिकाबीच खुला संवाद, सकारात्मक जीवनशैली प्रवर्द्धन तथा रोकथाम नै दुर्व्यसन न्यूनीकरणको पहिलो कदम भएको बताउनुभयो।
कार्यक्रममा लागु औषध ओसारपसारमा संलग्न व्यक्तिलाई कडा कारबाही र प्रयोगकर्तालाई गुणस्तरीय उपचार तथा पुनर्स्थापनाको व्यवस्था अनिवार्य हुनुपर्नेमा जोड दिइयो।
नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष प्रकाश बमले “आज बचाइएको एक जीवन भोलिको उज्यालो भविष्य हो” भन्दै लागु औषध विरुद्धको लडाइँ सरकार वा संस्थाको मात्र नभई सम्पूर्ण समाजको साझा जिम्मेवारी भएकाले लागु औषध मुक्त जिल्ला तथा प्रदेश निर्माणका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

