

भदौ ७, भक्तपुर : प्रतिनिधिसभा सदस्य तथा पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपालका युवाहरूले नेतृत्वको भूमिका लिन नसक्दा देश पछाडि परेको टिप्पणी गर्नुभएको छ।
शनिबार भक्तपुरमा आयोजित युवा गैरसरकारी संस्था महासंघको १४औं महासभा उद्घाटन गर्दै शाहीले राज्यले युवा शक्तिको उपयोग गर्न नसकेको र त्यसकै कारण युवामा नकारात्मक सोच र गतिविधिहरू बढेको दाबी गर्नुभयो।
उहाँले भने, “युवाहरू परिवर्तनको शक्तिशाली आधार हुन्। तर, राज्यले अवसर दिन नसक्दा र युवाहरूले पनि नेतृत्व ग्रहण नगर्दा समग्र विकास अवरुद्ध भइरहेको छ।”

शाहीले नेपालमा युवा क्षेत्रमा थुप्रै गैरसरकारी संस्थाहरू क्रियाशील भए पनि तिनको उपलब्धि र प्रभावकारिता औंल्याउने ठाउँ रहेको बताउनुभयो। “सबै संस्था एउटै हुँदैनन्, केही संस्थाको कमजोरीले राम्रा काम गर्ने संस्थाहरू पनि बदनाम भइरहेका छन्,” उहाँले भन्नुभयो।
सोही कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले पनि विचार राख्दै हालका दिनमा नागरिक संस्थाहरूको आवाज खुम्चिँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। उहाँले महासंघले युवाका मुद्दाहरूमा जोड दिने विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
महासंघका केन्द्रीय अध्यक्ष नारायण गिरीले युवालाई देखाउने भाँडो मात्र बनाइएको आरोप लगाउँदै अब यथार्थमा युवा शक्ति प्रयोग गरेर समाज र राजनीति रूपान्तरण गर्नुपर्ने बताए। “महासंघ अब संगठन सुधार र नेतृत्व विकासमा विशेष अभियान लिएर अगाडि बढ्नेछ,” उहाँले बताए।
दुई दिनसम्म सञ्चालन हुने उक्त महासभामा ७७ जिल्लाबाट १०५ प्रतिनिधिहरू सहभागी भएका छन्। कार्यक्रममा युवा सम्बन्धी विविध एजेण्डामा छलफल, घोषणा पत्र जारी, र रिक्त पदाधिकारी चयन गर्ने कार्यहरू समेटिएको महासंघका महासचिव रविन्द्र लामिछानेले जानकारी दिनुभयो।

