

असोज २३ गते,डोटी : प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएका १० जना नेपालीको सम्झनामा नेपाल विद्यार्थी संघ डोटीले शोक सभा गरेको छ ।
आईतवार इजरायलमा भएको हमलामा परि मारिएका दश जना नेपालीको सम्झनामा नेविसंघ डोटीले मङ्गलवार राजपुरको सेती सभा हलमा मृतकहरूको आत्माको चीर शान्तिको कामना गर्दै शोक सभा गरेको हो ।शोक सभा कार्यक्रममा बोल्दै नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले इजरायलमा आक्रमणमा परेर मारिएका दश जनाले अकालमा ज्यान गुमाउँदा देशलाई ठुलो क्षति पुगेको बताएका छन् ।
सभापति सिंहले यस दुःखद घडीमा इजरायलमा आक्रमणमा परि ज्यान गुमाउनु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरे । साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उचित क्षतिपूर्ति तथा नेपाल फर्कन इच्छुकहरू र मृतकहरूको शवलाई तत्काल नेपाल फर्काउन सिंहले सरकार सँग जोडदार माग गरे ।

नेविसंघले डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजनामा गरिएको शोक सभामा कार्यक्रममा नेपाली कांगे्रसका नेता कार्यकर्ता,भातृ तथा शुभेच्छुक संघ संगठनका प्रमुख प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा गरेको आक्रमणमा मारिएकाहरूको सम्झनामा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलवार राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय शोकको दिन देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको थियो ।
मृतकका परिवारलाई राहत स्वरूप संघ सरकाले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै सुदूरपश्चिमका ७ जनाका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले रकम दिने निर्णय गरेको छ ।
इजरायलमामा आक्रमणमा परेर सुदूरपश्चिमका ७ जना ज्यान गुमाएका छन् । कैलालीको घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, बझाङको जय पृथ्वी नगरपालिका–११ का गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशीष चौधरी, लेकम–४ दार्चुलाका दीपेशराज विष्ट, डोटीका राजन फुलारा, पदम थापा र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामीको आक्रमणमा निधन भएको छ ।
सो विश्वविद्यालयले पहिलो पटक इजरायली राजदूतावासको समन्वयमा त्यहाँको सेडट नेगेभ कलेजसँगको सम्झौतामा विद्यार्थीहरू ११ महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमका लागि गत भदौ २५ गते १५ र २६ गते ३४ गरेर ४९ जना नेपाली विद्यार्थी इजरायल पठाएको थियो । विद्यार्थीले कृषि सीप सिक्नाका साथै केही आम्दानी गर्ने उद्देश्यले विश्वविद्यालयलले प्रयोगात्मक अभ्यासका लागि त्यहाँ पठाएको हो ।

