

मंसिर ११ गते डोटी : प्रहरी जवान आधारभूत तालिम पूरा गरेका २५६ जना प्रहरी शुक्रवार दिपायलमा दीक्षित भएका छन्। सुदूर पश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ११-८४औँ समूहका १३१महिला र १२५ जना प्रहरी दीक्षित भएका हुन्।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईले विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरेका हुन् ।
सो अवसरमा बोल्दै डिआइजी भट्टराईले तालिममा सिकेका ज्ञान, सीप र कौशललाई कार्यक्षेत्रमा प्रयोग गरी आम नागरिकले उत्कृष्ट प्रहरी सेवाको अनुभूति गर्न सक्ने गरी कार्य गर्न निर्देशन दिए। दीक्षित प्रहरी संगठनको आधारस्तम्भ भएको बताउँदै उनले आफ्नो जिम्मेवारीलाई सानो र ठुलो रूपमा नहेरी संगठनको प्रतिष्ठा उच्च बनाउँदै काम गर्न आग्रह गरे।

भट्टराईले डिउटीमा समयमै उपस्थित हुने, आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्दै आफ्ना सहकर्मीसँग सहकार्य गर्दै अघि बढ्न सुझाव दिए।
प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले संगठनको प्रहरी जवानले बोल्ने बोली र व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने हुनाले बोली र व्यवहार अत्यन्त विनम्र एवं व्यावसायिक हुनुपर्नेमा जोड दिए।
उक्त कार्यक्रममा तालिमसम्बन्धी प्रतिवेदन तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरजबहादुर खड्काले प्रस्तुत गरेका थिए ।
तालिममा उत्कृष्ट हुने प्रशिक्षार्थीहरू क्रमशः नरेन्द्र सिंह ठगुन्ना प्रथम द्वितीय प्रविण चौधरी,तृतीय संगिता रौले लगायत उत्कृष्ट प्रशिक्षकहरूलाई समेत पुरस्कार वितरण गरिएको थियो।
