

एकेन्द्र चन्द,कार्तिक १०,डोटी :डोटीको जोरायल गाउँपालिका–४ मा रहेको रोयल जोरायल क्लबले ‘छैटाैं स्व. चित्र मडै स्मृति’ जोरायल पेनाल्टी सुटआउट प्रतियोगिता २०८३ आयोजना गर्ने भएको छ।
क्लबले जारी गरेको सूचनाअनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलप्रेमीहरूलाई टिम दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरिएको छ।
प्रतियोगितामा सहभागी हुन टिम दर्ता शुल्क एक हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ। टिम दर्ता गर्ने अन्तिम मिति २०८३ साल कात्तिक २३ गते बेलुकीसम्म तोकिएको छ। सोही दिन बिहान १० बजेसम्म टाइसिट तयार गरिने क्लबले जनाएको छ।

प्रतियोगिता जोरायल गाउँपालिका–४ स्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ। खेल कात्तिक २३ गते बिहान ११ बजेदेखि सुरु हुने सूचनामा उल्लेख छ।
प्रतियोगितामा टिममा ६ जना खेलाडीको नामावली हुनुपर्ने, एक खेलाडीले एउटै टिमबाट मात्र खेल्न पाउने तथा सबै खेलाडीले आफ्नै क्लबको जर्सी अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने नियम राखिएको छ। खेल नकआउट प्रणालीबाट सञ्चालन गरिनेछ।
प्रतियोगितामा प्रथम हुने टिमले २२ हजार रुपैयाँ र द्वितीय हुने टिमले ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
खेलकुदको माध्यमबाट स्थानीयस्तरमा प्रतिभावान् खेलाडीको पहिचान तथा खेल क्षेत्रको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ।
