


असोज ११ गते, डोटी: नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत डोटी जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु भएको छ।
दिपायलको राजपुरस्थित सेती सभाहलमा आइतबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य भरतबहादुर खड्काले अधिवेशनको उद्घाटन गरेका हुन्।
नेपाली कांग्रेस डोटीका कार्यवाहक सभापति नारायण बलायरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, पार्टी पदाधिकारी, पालिका सभापतिलगायतको उपस्थिति रहेको थियो।

अधिवेशनले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति गठनसँगै महाधिवेशन प्रतिनिधि चयनका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछ।
कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया अघि बढेसँगै डोटीमा पनि नेतृत्व तथा प्रतिनिधि छनोटका लागि आन्तरिक गतिविधि तीव्र बनेका छन्।
