

भदौ ७ गते ,धनगढी : राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको जन्मजयन्तीका अवसरमा आज अनावरण गर्ने तयारी गरिएको शालिकमा गएराति तोडफोड गरिएको छ ।
धनगढी उपमहानगरपालिका–७ मा निर्माण गरिएको सिंहको शालिक अनावरण हुनुअघि नै अज्ञात समूहले गएराति तोडफोड गरेको हो ।
घटनाबारे फूलवारीखबरलाई जानकारी दिँदै अधिवक्ता भरत सिंहले शालिकमा तोडफोड भएको बताए । उनले आजै एक कार्यक्रमका विच शालिक अनावरण गर्ने तयारी गरिएको भए पनि गएराति तोडफोड भएको बताए ।

‘शालिक कसले र किन तोडफोड गरेको हो भन्ने खुलेको छैन,’ उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’
शालिक तोडफोड गर्ने समूहको पहिचान हुन नसकेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबीच, आज जयपृथ्वीबहादुर सिंहको १५० औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उहाँको जन्मस्थल बझाङमा पनि जन्मजयन्तीका अवसरमा विभिन्न संघ संस्थाले लगायतले कार्यक्रम आयोजना गरिएका छन् ।
जयपृथ्वीबहादुर सिंहको जन्म वि.सं. १९३४ भदौ ७ गते बझाङमा भएको थियो । शिक्षा, मानवतावाद र समाज सुधारका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका सिंहलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ ।
उनले नेपाली शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै ‘अक्षराङ्क शिक्षा’ पुस्तक लेख्नुभएको थियो । उक्त पुस्तकलाई नेपाली भाषाको प्रारम्भिक पाठ्यपुस्तकमध्ये महत्वपूर्ण मानिन्छ ।
