

साउन २८ ,डोटी : डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ। हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले विशेष पूजाआजा गरेपछि आज जिल्ला प्रशासन कार्यालयबाट पेटारो बडिमालिकाका लागि निस्केको हो।

जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडिमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ। सोही पूजाआजाका लागि राणाकालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ । पेटारो पैदल १५ दिन लगाएर बडिमालिका पुग्नेछ।

जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बास बस्ने छ। दोस्रो दिन पूर्वीचौकी–५ को धानुकाँडामा बास बस्नेछ । यस्तै, अछामको मार्कु, प्रसिद्ध धार्मिकस्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडिमालिका पुग्ने चलन छ।
पूजा सामग्रीमा दिपायलको भुरुरी ‘धानको पात’ र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ। यो वर्षको पेटारो टोलीको नेतृत्व नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकर बहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका छन् ।
डोटीबाट सरकारी पूजा नभई अरूले पूजा गर्न नपाउने प्रचलनसमेत रहेको शैलेश्वरी मन्दिरका मुख्य पुजारी प्रेमशंकर भट्टले बताए । डोटीपश्चात् अन्य जिल्लाका पेटारे टोली एवं तीर्थयात्रीले पूजा गर्छन्।
बाजागाज सहित दिपायल देखि इन्द्रचोक सम्म र ईन्द्रचोक देखि सिलगढिको टिमले स्वागत गर्दै वाजागाजा सहित बजार परिक्रममा गरेर पुजा आजाका साथ पेटाराे वडिमालिका प्रस्थान गरिएको शैलेश्वरी मन्दिरका पुजारी भट्टले बताए।
पेटारो प्रस्थानका क्रममा सरकारी पूजा सामग्रीलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो। जिल्ला प्रशासन कार्यालयमा विशेष पूजापछि निस्केको पेटारोसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिका तिर लागेकोछ।
