Sujang

खुटिया–दिपायल द्रुतमार्ग ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य

Ban

साउन २१ गते ,डोटी : सुदूरपश्चिम प्रदेशको ‘लाइफलाइन’का रूपमा हेरिएको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग द्रुतमार्ग अन्तर्गत खुटिया–दिपायल खण्डको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

सडक आयोजना प्रमुख शशांक मिश्रका अनुसार चालु आर्थिक वर्षमा उक्त सडक खण्डका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएपछि निर्माण कार्यले तीव्रता पाउने भएको छ।

Krishi

“चालु आर्थिक वर्षमा ५५ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको छ। थप डेढ अर्ब रुपैयाँ बजेटका लागि फाइल पेश गर्ने तयारीमा छौं,” मिश्रले भने, “त्यो स्वीकृत भए तीन वर्षभित्र दिपायलसम्मको काम सम्पन्न गर्न सकिन्छ।”

उनका अनुसार खुटियादेखि दिपायलसम्मको कुल ८६ किलोमिटर सडकमध्ये हालसम्म २० किलोमिटर कालोपत्रे सम्पन्न भएको छ।
यस खण्डमा निर्माण गर्नुपर्ने १७ वटा पुलमध्ये ४ वटा निर्माण सम्पन्न भइसकेका छन् भने ३ वटा पुल निर्माणाधीन छन्। बुधबार जिल्ला प्रशासन कार्यालय डोटीमा सञ्चारकर्मीसँगको छलफलमा आयोजना प्रमुख मिश्रले दिपायलसम्मको निर्माण कार्यलाई प्राथमिकता दिएर अघि बढाइने बताए।

“हाल खुटियादेखि दिपायलसम्म २० किलोमिटर र दिपायलदेखि मेल्लेखसम्म ३२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ,” उनले भने, “अब पहिलो प्राथमिकता दिपायलसम्मको खण्ड सम्पन्न गर्नु हो।”
सडक निर्माणको गुणस्तरबारे विभिन्न गुनासा आएपछि प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालको समन्वयमा आयोजित छलफलमा मिश्रले तोकिएको मापदण्डअनुसार नै निर्माण भइरहेको दाबी गरे। कतै कमीकमजोरी देखिए सुधार गर्दै अघि बढाइने उनको भनाइ थियो।
यो सडक आयोजना आर्थिक वर्ष २०६५/०६६ मा सडक विभागले सुरु गरेको हो। सुरुमा डिभिजन सडक कार्यालय, कुलपाते (डोटी) अन्तर्गत रहेको आयोजना २०७३/०७४ मा छुट्टै आयोजना कार्यालयमार्फत सञ्चालन गरियो।

२०७६ साउनमा आयोजना सुदूरपश्चिम प्रदेश सरकारको मातहतमा गएको भए पनि करिब सात महिनापछि २०७६ फागुनदेखि पुनः सङ्घीय सरकारकै मातहतमा फर्काइएको थियो।
पाँच वर्षभित्र दिपायलसम्म यातायात सञ्चालन गर्ने लक्ष्यका साथ सुरु गरिएको यो आयोजना निर्माण सुरु भएको १८ वर्ष पूरा हुँदा पनि धेरै स्थानमा सडकको ट्र्याकसमेत पूर्ण रूपमा खुल्न सकेको छैन।
सुरुमा खुटिया–बिपिनगर–दिपायल सडकका रूपमा रहेको यो आयोजना पछि बझाङको चैनपुरसम्म विस्तार गर्ने योजना बनाइयो। हाल उत्तर–दक्षिण अन्तर्राष्ट्रिय नाका जोड्ने उद्देश्यका साथ यसको नाम धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ्ग द्रुतमार्ग राखिएको छ।
१८ वर्षको अवधिमा द्रुतमार्गको नाम लामो बन्दै गए पनि निर्माण कार्य अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। आयोजना प्रमुख मिश्रका अनुसार गत आर्थिक वर्षमा विनियोजन गरिएको १५ करोड रुपैयाँ बजेटसमेत खर्च हुन नसकी फ्रिज भएको थियो।

Salmuni
Leave A Reply

Your email address will not be published.