

साउन १९ गते ,डोटी : उच्च अदालतहरूले इजलासबाट जारी आदेशहरू उही दिन विद्युतीय प्रणालीमा राख्न सुरु गरेका छन् ।
उच्च अदालत दिपायलका सूचना अधिकारी नरबहादुर नेगीका अनुसार उच्च अदालत दिपायलमा आजैबाट केस म्यानेजमेन्ट सिस्टम (सीएमएस)मा राख्न सुरु गरेको शिलाखबरलाई बताए ।
आवश्यक पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याउन प्रशासन, सूचना प्रविधि र इजलास अधिकृतहरूलाई सोमबारै निर्देशन भएको उनले जानकारी दिए ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको घोषणा अनुसार इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय प्रणालीमा राख्न गरेको सर्कुलर अनुसार उच्च अदालत दिपायलले आजबाट आदेश राख्न सुरु गरेको हो । शर्माले संसदीय सुनुवाइ सुनुवाइ समितिमा समेत सीएमएस प्रणाली कार्यान्वयनका लागि प्रतिबद्धता जनाएका थिए । अदालतको विद्युतीय प्रणालीमा उही दिन आदेशहरू अपलोड गर्दा मुद्दाका पक्ष, कानुन व्यवसायी तथा सम्बन्धित निकायले आदेशको जानकारी समयमै प्राप्त गर्न सक्नेछन् ।
सूचना अधिकारी नेगीले चाँडै जिल्ला अदालतहरूमा पनि यो प्रणाली लागू गर्ने तयारी भइरहेको जानकारी दिए।
यस प्रणाली लागू भएपछि सेवाग्राहीले आदेशको जानकारीका लागि पटक–पटक अदालत धाउनुपर्ने बाध्यता कम हुनेछ। साथै मुद्दाका पक्ष र अदालतका कर्मचारीबीच हुने अनावश्यक प्रत्यक्ष सम्पर्क न्यून हुने अपेक्षा गरिएको छ।
नयाँ व्यवस्थाअनुसार मुद्दाका पक्षहरूले आवश्यक प्रक्रिया पूरा गरी देशभरका जुनसुकै अदालतबाट पनि सम्बन्धित आदेशको प्रमाणित प्रतिलिपि प्राप्त गर्न सक्ने सुविधा समेत उपलब्ध हुनेछ।
सर्वोच्च अदालतले यसअघि नै इजलासबाट भएका आदेश सोही दिन सीएमएसमा राख्न सुरु गरिसकेको छ । सूचना प्रविधि महाशाखाबाट आदेश अपलोडका लागि सूचना प्रविधि हेर्ने प्राविधिकलाई तालिम दिएको छ ।
