

मंसिर २६ गते, डोटी : नेपाली कांग्रेस डोटीले आगामी फागुन २१ गते हुनेप्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १७ जनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमिति सभापति नरेन्द्रबहादुर सिंहले बिहीबार प्रत्यक्षतर्फ १७ जनाको नाम सुदूरपश्चिम प्रदेश कार्यसमिति समक्ष सिफारिस गरेका हुन् ।
आकांक्षीहरू बीच सहमति नभएपछि देवनागरीलिपिको वर्णानुक्रम अनुसार सिफारिस गरिएको सभापति सिंहले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीको मंसिर २४ र २५ गते बसेको बैठकबाट सिफारिस हुनेहरुमा गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र बिक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिंह, पदमराज जोशी, पुष्प कुमार शाही, प्रदिप कुमार देउवा, बीर बहादुर बलायर, भक्त बहादुर बलायर, भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मीराज पाठक, हर्क बहादुर देउवा र श्यामराज ओझा रहेका छन् ।

त्यसैगरी समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस गरिएको छ । जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, रहेका छन् भने अल्पसंख्यक कोटाबाट हिक्मत सिंह चोपडा, पिछडिएको क्षेत्रबाट माया देवी कुँवर र दलित आरक्षणबाट लाल बहादुर बिकको नाम सिफारिस गरिएको छ ।
उता राष्ट्रियसभा सदस्यका लागि दिपक कुमार बिष्ट र यज्ञराज पाठक गरी दुईजनाको नाम सिफारिस गरिएको डोटी जिल्ला कमिटी नरेन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।
नेपाल सरकारको निर्णयअनुसार प्रतिनिधि सभा निर्वाचन यहि फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुने बताइएको छ ।

स्ववियु सभापतिदेखि पुर्वमन्त्रीसम्म आकांक्षी
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस डोटीबाट स्ववियु सभापतिदेखि पुर्व मन्त्रीसम्म आकांक्षी बनेका छन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तिपुरका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा पनि प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् ।
त्यसै गरी नेपाली काँग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाल–अमेरिका जनसम्पर्क समितिका सभापति गोरख बिष्ट (आनन्द ) पनि सिफारिस भएका छन् ।
त्यसैगरी अन्य युवा नेताहरुमा नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र बहादुर शाही, तरुण दलका केन्द्रीय सदस्य ललित बहादुर बलायर, नेबिसंघका पुर्व केन्द्रीय सदस्य राम बहादुर रोकाय, हर्क बहादुर देउवा सिफारिस भएका छन् भने समानुपातिक तर्फ दलित संघ डोटीका अध्यक्ष लाल बहादुर बिक समेत सिफारिस भएका छन् ।
त्यसैगरी पुर्वमन्त्री बीर बहादुर बलायर पनि प्रतिनिधि सभा सदस्यका लागि डोटीबाट सिफारिस भएका छन् । बलायर यसअघि २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । बलायर सुदूरपश्चिम प्रदेश समिति सभापति समेत हुन् । संबिधान सभा सदस्य तथा पुर्व प्रदेश सभा सदस्य भरत बहादु खड्का समेत प्रतिनिधि सभा सदस्यका लागि सिफारिस भएका छन् ।

