

कार्तिक २८ गते, डोटी : जिल्ला बाल सञ्जाल डोटीले सायल गाउँपालिकामा सामाजिक कुप्रथाविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।
सञ्जालले बिहीबार सायल–६ स्थित हिमालय माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लक्षित गर्दै कुप्रथासम्बन्धी जागरण कार्यक्रम सम्पन्न गरेको हो।
जिल्ला बाल सञ्जालकी अध्यक्ष सपना मालासीका अनुसार विद्यालयमा अध्ययनरत बालबालिकालाई छाउपडी, जातीय छुवाछुत, बाल विवाह, लैंगिक हिंसा लगायतका सामाजिक कुप्रथाका विषयमा जानकारी प्रदान गरिएको थियो। उनका अनुसार बालबालिका स्वयंले आफ्नो क्षेत्रमा छाउपडी प्रथा अत्यधिक रहेको र धेरैजसो बालिकाहरू अझै पनि पीडित हुने गरेको तथ्य साझा गरेका थिए।


कार्यक्रममा ७० जना विद्यार्थीको सहभागिता रहेको थियो। बालबालिकासँग गरिएको छलफलमा छाउगोठ अझै पनि कायम रहेको, बाल विवाहको जोखिम उच्च रहेको र स्थानीय तहमा मदिरा तथा लागुऔषध दुरुपयोग पनि समस्या बनेको पाइएको अध्यक्ष मालासीले बताइन्।
“हामीले कुप्रथासँगै बालबालिकाका समस्याहरू पहिचान गर्ने प्रयास गर्यौँ। छाउपडी, छुवाछुत, बाल विवाह जस्ता समस्या अझै हट्न सकेका छैनन्। यी विषयमा कानुनी व्यवस्था, स्वास्थ्य प्रभाव र पारिवारिक असरबारे विद्यार्थीलाई स्पष्ट जानकारी गरायौँ,” उनले भनिन्।
बाल सञ्जालका सल्लाहकार अंकित श्रेष्ठले बालबालिकालाई संगठित भएर कुप्रथा र हिंसाविरुद्ध आवाज उठाउन पनि प्रेरित गरिएको बताए।

कार्यक्रमपछि देखिएका समस्याको दीर्घ समाधानका लागि स्थानीय सरकारसँग छलफल गरिएको सञ्जालले जनाएको छ।

