भदौ- २५,सिलगढी:डोटीको दिपायलमा अत्याधुनिक नयाँ बसपार्क बन्ने भएको छ । दिपायल सिलगढी नगरपालिकाले निर्माण गर्न लागेको बसपार्क करिब ३१ करोड लागतमा बन्ने भएको हो ।
दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ सेती नदि किनारमा बन्न लागेको बसपार्क निर्माणका लागि जग्गा खरिद कार्य सम्पन्न भइसकेको र अन्य आवश्यक काम अगाडि बढीरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए ।
दिपायल सिलगढी नगरपालिकाले नयाँ बसपार्क निर्माणका लागि सोमबार आयोजना गरेको सबैपक्षिय छलफल कार्यक्रममा जानकारी दिंदै सुचिकारले बसपार्कको डिपीआर समेत स्वीकृत भइसकेको जानकारी दिए । कार्यक्रममा बसपार्कको सम्पूर्ण प्राबिधिक कुराहरुका बिषयमा नगरपालिकाका सबईन्जिनियर सोरुप सिंहले जानकारी दिए ।
करिब ३२ रोपनी जग्गामा निर्माण हुने बसपार्कको लागि निर्माण रकम नगरपालिकाले नगर विकास कोषसंग ऋण लिने भएको छ । नगर विकास कोषसंग ऋण लिने निर्णय समेत भइसकेको बताइएको छ ।
नगर विकास कोषसंग ऋण लिंदा जम्मा लागतको १५ प्रतिसत अनुदान स्वरुप प्राप्त गर्ने, ३० प्रतिसत नगरपालिका स्वयंले व्यहोर्नुपर्ने र ५५ प्रतिसत मात्रै फिर्ता गर्नुपर्ने गरि ऋण प्राप्त हुने नगरप्रमुख बाजी सिंह खड्काले जानकारी दिए ।
नगरपालिकाको गौरभको योजना रहेकाले बसपार्क निर्माण योजना सफल पार्न सबै पक्षबाट सहयोग हुनुपर्ने नगरप्रमुख खड्काले बताए । बसपार्क नगर क्षेत्रमा भएपनि जिल्लाकोनै आवश्यकताको योजना रहेको उनले बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले नगरको मात्र नभइ जिल्लाकोनै महत्वको योजना रहेकाले बसपार्क निर्माणमा सबैले चासोर र चिन्ता दिनुपर्ने र समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए ।
छलफल कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले जिल्लाका अतिआवश्यक गौरवको योजना भए पनि बसपार्क सेती नजिक बन्ने भएकोले भूगोलकोअध्ययन गरेर दीर्घकालिन सोचका साथ लगानी सुरक्षित हुने तरिकाले काम गर्न सुझाव दिए थिए।
उक्त छलफल कार्यक्रम जनप्रतिनिधि ,राजनीति दलका प्रमुख प्रतिनिधि ,यातायात ब्यवसायी संघका प्रमुख प्रतिनिधि , उद्योग वाणिज्य संघ तथा चेम्बरका प्रमुख प्रतिनिधि , नागरिक समाज, पत्रका लगायत उपस्थिति रहेकोे थियो ।