Sujang

कैलालीमा दुई सय ८९ उद्योग बन्द

साउन ७ गते ,कैलालीः कैलालीमा दुई सय ८९ उद्योग बन्द भएका छन्।

जिल्लामा सञ्चालित दुई सय ८९  घरेलु तथा साना उद्योग बन्द भएका छन्। कच्चापदार्थ अभाव, उत्पादित सामग्रीले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायतका कारण ती उद्योग बन्द भएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ। कतिपय उद्योग सञ्चालक रोजगारीका लागि वैदेशिक रोजगारीमा गएकोसमेत देखिएको छ।

कार्यालयका लेखा अधिकृत टिकेन्द्रप्रसाद जोशीले खाने तेल, सिमेन्ट ब्लक, पोल्ट्रीफार्म, ब्युटीपार्लर जस्ता घरेलु उद्योग बन्द भई खारेजीमा परेको जानकारी दिए। पछिल्लो समय उद्योग दर्तामा महिलाको स्वामित्व उल्लेख्य रूपमा बढ्दै गएको छ। महिलाका नाममा प्राइभेट फार्म दर्तामा छूटको व्यवस्था गरिएसँगै उद्योग दर्तामा महिलाको स्वामित्व बढेको हो।

कानुनी व्यवस्था गरिँदा उद्योगमा महिलाको स्वामित्व उल्लेख्य रुपमा बढेको जोशीले बताए। कैलालीमा हालसम्म १५ हजार चार सय ८६ उद्योग दर्ता छन्। उद्योग कार्यालयमा अहिलेसम्म उत्पादनमूलक तीन हजार दुई सय आठ, कृषिसम्बन्धी छ हजार पाँच सय १४, निर्माणसम्बन्धी दुई, पर्यटनमूलक ६५, सूचना प्रविधिमूलक १२, सेवामूलक पाँच हजार छ सय ८५ गरी १५ हजार चार सय ८३ उद्योग दर्ता भएका छन्। अहिलेसम्म दर्ता भएका उद्योगमा २५ अर्ब ७० करोड ३७ लाख लगानी प्रस्ताव गरिएको छ।

ती उद्योगमा नौ हजार दुई सय ११ महिला र ६९ हजार छ सय ५७ पुरुषलाई रोजगारी प्रस्ताव गरिएको जनाइएको छ। गत आर्थिक वर्ष २०८०÷८१ मा उत्पादनमूलक एक सय ३५, कृषिमूलक तीन सय २३, सेवामूलक दुई सय ५६ गरी जम्मा सात सय १४ उद्योग दर्ता भएको लेखा अधिकृत जोशीले बताए। गत आर्थिक वषमा एक करोड ७७ लाख ४४ हजार सात सय ७७ राजस्व सङ्कलन भएको छ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा एक हजार एक सय सय ९७ उद्योग दर्ता भएकामा कार्यालयले ५२ लाख १६ हजार राजस्व सङ्कलन गरेको थियो। अघिल्ला आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष  २०८०/८१ मा उद्योग दर्तामा कमि आएको छ।

लेखा अधिकृत जोशीले अघिल्लो आर्थिकवर्षको तुलनामा गत आव २०८०/८१ मा करको दर बढेसँगै वाणिज्य कार्यालयले दर्ता गर्ने पसललगायतका काम गत आवदेखि घरेलु तथा साना उद्योग कार्यालयले गर्दा राजूस्व सङ्कलनमा वृद्धि भएको बताए। -दिनेश खबरबाट

Salmuni
Leave A Reply

Your email address will not be published.