साउन ६ गते ,सिलगढी : प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता स्व.विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी सङ्घले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
आइतबार पार्टीका जिल्ला स्तरीय नेता तथा नेविसङ्घका कार्यकर्ताले जिल्ला अस्पताल सिलगढीमै पुगेर उपचाररत रहेका बिरामीलाई फलफूल वितरण गरेका हुन् । उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको नेविसङ्घका कार्यवाहक जिल्ला सभापति योगेन्द्र रावतले जानकारी दिए ।
त्यस्तै बिपी स्मृतिका अवसरमा जिल्ला समन्वय समितिको प्राङ्गणमा बृक्षा रोपण गरिएको नेपाली काँग्रेस डोटीका पार्टी सचिव गणेश खड्काले बताए ।
बृक्षा रोपण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस पार्टीका जिल्ला उप – सभापति बाजि सिंह खड्काले नेपालमा प्रजातन्त्र स्थापनाका लागि कठोर सङ्घर्ष गरेका संस्थापक नेता कोइरालाको योगदानलाई भुल्न नहुने बताए । बिपीले देखाएको बाटोलाई आत्मसात् गरेको सबैले अगाडी बढ्नु पर्नेमा उनेले जोड दिए।
स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रम नेपाली काङ्ग्रेस उप-सभापति तथा दिपायल सिलगढी नगरपालिका नगर प्रमुख खड्का ,पार्टी सचिव तथा आदर्श गाउँपालिका अध्यक्ष गणेश खड्का , नेपाली काङ्ग्रेसका महासमिति सदस्य जित बहादुर खड्का , जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनारा,शिखर नगर पालिका नगर प्रमुख दीर्घ बहादुर बलायर , उप प्रमुख सुनिता रावल जोरा, महाधिवेशन प्रतिनिधि विजयराज ओझा , नेपाली काङ्ग्रेस पार्टी प्रवक्ता सुशील घर्ती ,नेबि संघका केन्द्रीय सदस्य लोकेन्द्र भण्डारी , प्रकाश ठकुल्ला , नेपाल प्रेस युनियनका अध्यक्ष चक्र कुँवर लगायत नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता भातृ संघसंगठनका प्रमुख प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
संसदीय निर्वाचनपछि वि.सं २०१६ मा कोइराला नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका थिए । काँग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको वि.सं १९७१ मा जन्म भएको थियो भने विसं २०३९ साउन ६ गते निधन भएको थियो ।