![Sujang](https://shilakhabar.com/wp-content/uploads/2022/09/1380138577ssssss-1.png)
प्रकाश बम ,साउन ३ गते, डोटी : उच्च अदालत दिपायलले गत आर्थिक वर्ष २०८०÷८१ मा अदालतमा परेका मुद्दामध्ये नौ सय ३७ थान मुद्दा फर्छ्यौट गरेको छ ।
बिहीबार उच्च अदालत दिपायलले गरेको पत्रकार सम्मेलनमा उच्च अदालतले गत आर्थिक वर्षमा नौ सय ३७ थान मुद्दा फर्छ्यौट गरेको जानकारी गराएको हो ।
उच्च अदालत दिपायलका निमित्त रजिष्ट्रार तारदत्त वडुका अनुसार गत आर्थिक वर्ष अदालतमा दर्ता भएका सात सय थान र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका तिन सय ३३ गरी जम्मा एक हजार ३६ थान मुद्दामध्ये नौ सय ३७ थान मुद्दा फर्छ्यौट भई अब ९९ थान मात्र मुद्दा विचाराधीन रहेका छन् ।
अदालतले गत आर्थिक वर्ष ९० दशमलव ४४ प्रतिशत मुद्दा फछ्र्याैट गरी १० वर्ष अवधिमा सबैभन्दा बढी कार्यसम्पादन गरेको उच्च अदालत दिपायलका न्यायधिस डाल कुमार खड्काले बताए ।
यसैगरी, आव २०७९/८० मा उच्च अदालत दिपायलमा जिम्मेवारी सरी आएका चार सय ८१ र नयाँ दर्ता भएका ७ सय ७५ गरी कूल एक हजार २ सय ५६ थान मुद्दामध्ये नौ सय २० थान अर्थात् ७३ दशमलव २४ प्रतिशत मुद्दा फर्छ्यौट भएको बताइएको छ । त्यस्तै, आव २०७८/७९ मा ७ सय बयानब्बे , २०७७/७८ मा पाँच सय छपन्न र आव २०७६/७७ मा तीन सय ७६ थान मुद्दा फर्छ्यौट गरेको अदालतले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै आव २०७५/७६मा पाँच सय अठार ,आव २०७४/७५ मा चार सय बयासी , आव २०७३/०७४ मा दुई सय एकासी , आव २०७२/७३ मा दुई सय तीस , आव २०७१/७२ मा चार सय चौपन्न र आव २०७०/७१मा तीन सय ५८ थान मुद्दा फर्छ्यौट गरेको अदालतले तथ्याङ्क सार्वजनिक गरेको हो ।
उच्च अदालत दिपायलका न्यायधिस खड्काले सम्बद्ध सबै पक्षको सहयोगमा गत दश वर्षयताकै सबैभन्दा बढी मुद्दा फछर्याैट गर्न अदालत सफल भएको जानकारी दिए ।
नागरिकलाई छिटोछरितो र सहज ढङ्गले न्याय सम्पादन गर्न सकियोस् भनी अदालतले भिडियो कन्फरेन्स मार्फत बहस गर्ने गरेकाले समेत मुद्धा फर्छौटमा सहयोग पुगेको उनले बताए ।
न्यायमा बाह्य पहुँच अभिवृद्धिका लागि न्यायाधीशसँग भेटघाट कार्यक्रमअन्तर्गत स्थानीय जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसमा विद्यार्थीहरूसँग न्यायिक संवाद कार्यक्रम समेत सञ्चालन गरेको न्यायाधीश खड्काले जानकारी दिए ।