Sujang

डोटीका दुर्गम पालिकाहरूमा प्रहरी प्रशासनद्वारा नागरिक सुनुवाइ

गणेश मौनी,असार २० डोटी:डोटीको जोरायल र बडीकेदार गाउँपालिकामा प्रहरी प्रशासन द्वारा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको छ ।
नागरिकहरूलाई सामाजिक कुरीती, बाल विवाह, बहुविवाह, लागु पदार्थ दुर्व्यसनी लगायतका विषय बस्तुको बारेमा जानकारी दिने उद्देश्यले जिल्ला सदरमुकाम बाट सबै भन्दा टाढाका पालिकाहरूमा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीले मंगलबार जोरायल गाउँपालिका र बुधवार बडीकेदार गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको थियो । नागरिक सुनुवाइ कार्यक्रममा नागरिक सँग सम्बन्धित विभिन्न सवालहरूको बारेमा छलफल हुनुका साथै केही जिज्ञासा र सवालहरूको उठान भएको प्रजिअ अर्यालले बताए ।

नागरिक सुनुवाइ कार्यक्रममा नागरिकता प्राप्ति प्रक्रिया, अवैध मदिरा नियन्त्रण, राष्ट्रिय परिचय पत्र , सरकारी कार्यालयले प्रदान गर्ने सेवाको गुणस्तर, बजार अनुगमन, सुशासन, वन्य जन्तुको समस्या, विपद् व्यवस्थापन, अबैध काठ नियन्त्रण, लैगिक हिंसा जस्ता समसामयिक विषय बस्तुहरूको बारेमा स्थानीय बासीहरुले जिज्ञासा उठान गरेको प्रजिअ अर्यालले बताए । नागरिक सुनुवाइमा उठेका सवालहरूलाई प्रहरी प्रशासन र स्थानीय सरकारले जवाफ दिनुका साथै यस्ता प्रकृतिका सवालहरूलाई न्यूनीकरण गर्न स्थानीय सरकार र प्रशासनले सहकार्य गरी कार्य योजना अनुसार अगाडी बढ्न आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।
स्थानीय स्तरमा देखा पर्ने गरेका सामाजिक मुद्धाहरुलाई स्थानीय सरकारले अभियानको रूपमा अगाडी बढाउन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।

सामाजिक कुरीती , लैङ्गिक हिंसा, बाल विवाह जस्ता सवालहरूलाई न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । पालिकाले किशोर किशोरी, लक्षित वर्ग, बालबालिकाहरू सँग विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको समेत उपाध्यक्ष विष्ट कलेलले बताइन् ।

प्रत्येक नागरिकले आफ्नो कर्तव्य र अधिकारको बारेमा बुझ्न आवश्यक रहेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साउँदले हरेक मानिस आफू चेतनशील हुन आवश्यक छ आफू चेतनशील भएपछि आफ्नो परिवार, समाजमा चेतना फैलाउन सक्ने भएकोले सामाजिक विकास र परिवर्तनमा चेतनाको अति आवश्यक रहेको बताए ।
पालिका भित्र देखिने गरेका विभिन्न सवालहरू मध्यनजर गर्दै पालिकाले विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको अध्यक्ष साउँदले बताए ।

कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी, पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत,प्रहरी प्रमुख, वडा अध्यक्ष, सदस्य, नागरिक समाज, राजनीतिक दल, विद्यार्थी,स्थानीय लगायतको सहभागिता रहेको थियो । कार्यक्रम पालिकाको सभा हलमा सञ्चालन भएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.