Sujang

डोटीमा राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकको भिड 

दीपेन्द्र खड्का, असार १८, डोटी  :राष्ट्रिय परिचयपत्र बनाउन  जिल्ला प्रशासन कार्यालय डोटीमा ज्येष्ठ नागरिकको भिड बढेको छ ।
आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिइएसँगै जिल्ला प्रशासन कार्यालय डोटीमा परिचयपत्र बनाउनेको भीड लागेको हो ।
विगत दुई हप्ता बढी समयदेखि सयौँका सङ्ख्यामा ज्येष्ठ नागरिकको प्रशासनमा भीड लागेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायले बताए ।
ज्येष्ठ नागरिकले यसरी नआत्तिनु पर्ने भन्दै परिचय पत्र वितरण तथा नयाँ परिचय पत्रकालागि राष्ट्रिय परिचयपत्र तथा पञ्जी करण विभागको टोली गाउँमै जाने भएकाले सबै सेवाग्रहिमा हतार नगर्न सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले आग्रह गरे ।
राष्ट्रिय परिचयपत्र नबनाए भत्ता पाइँदैन भन्ने हल्ला फैलिएसँगै ज्येष्ठ नागरिक सकी नसकी परिचयपत्रको नम्बर लिन प्रशासन धाइरहेका हुन् ।
राष्ट्रिय परिचयपत्र तथापञ्जी करण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।
तर पहिलो चरणमा डोटी जिल्लालाई भने समावेश गरिएको छैन ।
पहिलो चरणमा कञ्चनपुर, कैलाली, सुर्खेत, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, रौतहट, सर्लाही, काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली, मकवानपुर, चितवन, कास्की, तनहुँ, पर्सा, बारा, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरङ र झापा जिल्लामा मात्रै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको  छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.