जिल्लाको जोशीपुर गाउँपालिका, धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिकामा परेको चट्याङ्मा दुई जनाको मृत्यु र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जोशीपुर गाउँपालिका वडा नम्बर ३ भितरिया बस्ने ३१ बर्षिय जयराम डगौरा र धनगढी उपमहानगरपालिका वडा नम्बर १८ बस्ने २७ वर्षिय शालिम चौधरीको मृत्यु भएको जनाइएको छ ।
जयराम घरदेखि अन्दाजी ३०० मिटर टाढा आफ्नै खेतमा आलि बनाउने क्रममा चट्याङ लागी घाईते भएका थिए । उनको उपचारको लागि आफन्तले स्थानिय महापार्वती क्लिनिकमा ल्याएकोमा मृत्यु भएको थियो भने शालिमको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङमा परि घाईते हुनेमा जानकी गाउँपालिका वडा नम्बर ०४ बेलपुर बस्ने २९ बर्षिया रिता कठरिया, २३ वर्षिया सुस्मा डगौरा, भजनी नगरपालिका वडा नम्बर ६ बस्ने ५५ बर्षिय राम बहादुर चौधरी, घोडाघोडी नगरपालिका ९ बुदेनी बस्ने ९ बर्षिया सरस्वती भुल, ७ बर्षिया पारु कठायत र १० बर्षिया खिमा कठायत रहेका छन ।