गणेश मौनी ,असार ७ डोटी :डोटी जिल्लामा शिक्षक सेवा आयोग मार्फत स्थायी नियुक्ति भएका भएका आधारभूत र माध्यामीक तहका शिक्षकहरूको लागि आयोजना गरेको पाँच दिने सेवा प्रवेश तालिम सिलगढीमा सम्पन्न भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई डोटीले आयोजना गरेको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको थिए ।
तालिम समापन सत्रमा बोल्दै डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले शैक्षिक गुणस्तर अभिवृद्धि गरी शिक्षालाई प्रभावकारी बनाउन शिक्षकहरूको भूमिका महत्त्वपूर्ण भएको बताए ।
बालबालिका सँग रहेका सवालहरू बालबालिकाहरूको पढाई लेखाई, बालबालिकाहरू कुलत तथा दुब्र्यसनीमा फस्ने, बालबालिकाको बानी व्यवहार सबै विषयमा सुधार गर्न अरूको भन्दा शिक्षकहरूको भूमिका महत्त्वपूर्ण भएकोले शिक्षकहरूले सदैव सकारात्मक बन्नु पर्ने बताए ।
हाम्रो समाजको परिवेश अनुसार हाम्रो समुदायले शिक्षकमाथि धेरै भरोसा गर्ने भएकाले दलीय राजनीतिबाट टाढा भई शिक्षकहरू समाजमा परिवर्तनको संवाहक रूपमा काम गर्न आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताए ।
शिक्षक सदैव सकारात्मक बनी आफ्नो कर्तव्यलाई पूर्ण रूपमा बहन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सिंहले सबै तहका शिक्षकहरू सबै कुरामा पोख्त भई शिक्षक सेवा पास गरी आएकोले स्थानीय तहले शिक्षकहरूमा रहेको क्षमता बढी भन्दा बढी सदुपयोग गर्न आवश्यक रहेको बताए ।
समुदायबाट आएका गुनासाहरूलाई शिक्षकहरूले सहज रूपमा ग्रहण गर्न आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भीम प्रसाद पनेरुले बताए । उनले भने हामी जो कोही व्यक्तिले आफ्नो जिम्मेवारी बिर्सेर अरूको जिम्मेवारीको खोजीनिती गर्दा समस्या उत्पन्न हुने गरेकोले शिक्षकहरूले मेरो जिम्मेवारी र कर्तव्य के हो भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको समेत बताए ।
डोटी जिल्लामा शिक्षक सेवा आयोग मार्फत आधारभूत र माध्यामीक तहमा ९६ जना शिक्षक स्थायी नियुक्ति भएर आएका थिए जस मध्य बजेट अभावका कारण ५० जना शिक्षकहरूका लागि मात्र तालिमको आयोजन गर्न सकिएको समेत इकाई प्रमुख पनेरुले बताए ।
पाँच दिन सम्म सञ्चालन भएको तालिममा पाठ्यक्रम, शिक्षाका, ऐन, कानुन, शिक्षण विधि प्रक्रिया, शिक्षामा सूचना प्रविधिको विकास लगायतका विषय बस्तुमा छलफल गरिएको आयोजकले जनाएको छ ।