दीपेन्द्र खड्का, असार ६, डोटी : डोटीको पूर्वीचौकी गाउँपालिकामा एकल महिला कृषकलाई तरकारी खेतीसम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
उपाध्यक्ष सँग एकल तथा विपन्न महिला कार्यक्रम अन्तरगत एकल महिलालाई आयआर्जनका लागि व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको हो ।
पालिकाका एकल महिला स्वावलम्बन भई घरको आर्थिक अवस्था सबल बनाउने उद्देश्यले तालीममार्फत व्यावसायिक बनाइने उद्देश्यका साथ सञ्चालन गरिएको तालिम एक कार्यक्रमका बिच सम्पन्न गरिएको हो ।
एकल महिलालाई व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर गराई छोराछोरीको शिक्षा एवं परिवारमा सहयोग पुगोस् भन्ने उद्देश्यले गाउँपालिका सहयोगमा तालीमको आयोजना गरिएको पालिका उपाध्यक्ष पशुपति खड्काले बताइन । उनले भने, “हामी क्रमैसँग गाउँपालिकाका एकल महिलालाई चरणबद्ध तरीकाले व्यवसायी तरकारी खेती तथा अन्य आयआर्जन गर्ने खालका कार्यक्रम ल्याएर आत्मनिर्भर बनाउने छौ । यसले पालिकालाई समृद्ध पालिका बनाउने कुरामा टेवा पुग्ने समेत बताइएको छ ।”
तिन दिने तालीममा बेमौसमी तथा मौसमी तरकारी खेती प्रविधि, नर्सरी स्थापना एवं व्यवस्थापन, लहरे तरकारी बाली, यिनका महत्त्व तथा मूल बीउ उत्पादनसम्बन्धी प्रशिक्षण दिइएको छ । प्रशिक्षणमा माटो परीक्षण एवं सुधार तथा तरकारी र फलफूल खेतका लागि आवश्यक प्राङ्गारिक मल,जैविक बिषादिको प्रयोगका बारेमा एकल महिला कृषकलाई जानकारी गराइएको कृषि शाखा प्राविधिक उदय साउँदले बताए ।
तालीममा पालिका ७ वटा वडाका ३५ जना एकल महिलालाई सहभागी रहेको थियो ।
तालीममा स्थानीय तरकारी तथा फलफूलका लागि उपयुक्त हावापानीअनुसार प्रतिमहिला एउटा पोली हाउस त्रिपाल,एउटा हजारी,एउटा विषादी छर्ने स्प्रीय,र बन्दा,काउली,गाजर,टमाटर,धनियाँ रायो भएको तरकारीको एक किट वितरण गरिएको छ ।