जेठ ३० गते ,डोटी : विगत ३ वर्ष देखि ओडारमा बस्दै आएका दुई जना बालबालिकाको उद्धार गरिएको छ ।बुधवार जोरायल गाउँपालिकाले उद्धार गरेर आमाको जिम्मा लगाएको हो ।
जोरायल गाउँपालिका -३ अल्याडीको बिच जङ्गलको खोला छेउको ओडारमा बस्दै आएका रामेश्वर भट्टका ६ बर्षिया छोरी लक्ष्मी भट्ट र ३ बर्षिया छोरा दीपक भट्टको उद्धार गरेर आमाको जिम्मा लगाइएको छ ।
पारिवारिक अवस्था कमजोर भएका कारण ओडारमा र आमा लक्ष्मी भट्ट सँगै २ बालबालिका विगत ३ वर्ष देखी ओडारको बास बस्दै आएका थिए । बालाबालीकाको आमा बिस्णा भट्ट भने पारिवारिक झमेलाका कारण विगत १ वर्ष देखि माइतीघरमा बस्दै आएकी थिइन् ।
गत वैशाखमा भट्ट परिवार ओडारको बास बस्ने गरेको जानकारी पाएपछि जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा ,उपाध्यक्ष जमुना बोहरा ,प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्ट सँगै पत्रकारको समूह ओडार मै पुगेर भट्ट परिवारलाई भेटेका थिए । भेटमा गाउँपालिकाले बालबालिकाको शिक्षा, स्वास्थ्य र परिवारको बासको व्यवस्थापन गर्ने प्रतिबद्धता गरे ।
रामेश्वर भट्टको परिवारलाई गाउँपालिकाले पटक पटक ओडार छोडेर आउन अनुरोध गर्दा समेत निजले ओडार छोड्न नमानेपछि बुधवार बालाबालीकाको आमा बिष्णा भट्ट सँगै जोरायल गाउँपालिका महिला तथा बालबालिका विकास शाखा प्रमुख तुल्सि पाण्डे ,गाउँपालिकाका कर्मचारी ,पत्रकार ,प्रहरी र स्थानीयको समूह उक्त परिवारलाई उद्धार गर्न ओडार मै पुगेको थियो ।
ओडारमा पुगेर निज रामेश्वर भट्टलाई गाउँपालिकाले बस्न र बालबालिकाको लागि शिक्षाको व्यवस्थापन गरिदिने हुँदा ओडार छोडेर अफुहरुसंगै जान अनुरोध गर्दा रामेश्वर र उहाँको आमा लक्ष्मीले आफूहरू ओडार छोडेर कतै नजाने बरु छोराछोरीलाई आमाको जिम्मा दिन मन्जुर भएकाले कष्टकर जीवन बाँची रहेका बालबालिकाको उद्धार गरिएको जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्।
ओडारको कष्टकर बसाइबाट सहज बासको व्यवस्थापनका साथै पठनपाठन समेत गर्ने उद्देश्यले छोराछोरीलाई उद्धार गरेर पालिकाले आमाको जिम्मा लगाएको जोरायल गाउँपालिका अध्यक्ष ओझाले बताए।