गणेश मौनी ,जेठ २५ ,डोटी :डोटीको बडीकेदार गाउँपालिकाले पालिका स्तरीय सर्वदलीय बैठकको आयोजना गरेको छ ।
पालिकाको समग्र पक्षको समान रूपमा विकास गर्न सबै दलहरूको सहयोग आवश्यक भएकोले पालिका स्तरीय सर्वदलीय बैठकको आयोजना गरेको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बताएका छन् ।
सर्वदलीय बैठकमा दलहरूले दिएका सुझाव सल्लाहको आधारमा आगामी दिनमा नीति तथा कार्यक्रमहरू तय गरिने समेत अध्यक्ष साउँदले बताए ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साउँदले आगामी दिनमा पालिकाको समग्र पक्षको विकासमा दिगो रूपमा टेवा पुग्ने, आवश्यकताका आधारमा योजना निमार्ण गरिनुका साथै कृर्षि, पशुपालन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग धन्दा, पर्यटनलाई विशेष प्राथमिकताका साथ अगाडी बढ्ने समेत बताएका थिए ।
स्थानीय स्तरमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न पालिका सदैव सकारात्मक रहेको गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । पालिकाले आगामी दिनमा स्थानीय उत्पादकत्वलाई वृद्धि गर्ने व्यवसायी किसानहरूलाई सहयोग गर्न आवश्यक रहेको समेत बताइन् ।
सर्वदलीय बैठकमा राजनीति दलहरूले पालिकाको सबै क्षेत्रको विकासमा पूर्ण रूपमा सहयोग गर्नुका साथै पालिकाले आयोजना गरेको सर्वदलीय बैठक जिल्ला स्तरमा नै उदाहरणीय कार्य भएको प्रतिक्रिया दिनुका साथै पालिकालाई धन्यवाद समेत दिएका थिए ।
बैठकमा दलहरूले पालिकाको कृर्षि, शिक्षा, स्वास्थ्य,पर्यटनको विकासमा विशेष ध्यान दिनुपर्ने, पालिका स्तरमा नमुना योजनाहरू निमार्ण गरिनुपर्ने, सुशासन, जबाफदेहिता, पारदर्शिता कायम गर्न अपनाउनु पर्ने विधिहरू अवलम्बन गर्नुपर्ने, रैथाने बालीका प्रवर्द्धन गर्नुपर्ने, जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने लगाएका सुझावहरू दिएका थिए ।
पालिकाले आयोजना गरेको सर्वदलीय बैठकमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष, पालिका स्तरमा रहेका सबै दलहरूको सहभागिता रहेको थियो । देशका केही स्थानीय तहले मात्र अभ्यास गर्ने गरेको सर्वदलीय बैठक बडीकेदार गाउँपालिकाले गत वर्ष देखी आयोजना गर्दै आएको छ ।