गणेश मौनी, जेठ १६,डोटी : भू-स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले खप्तड-शैलेश्वरी हाइ अल्टीच्यूडको म्याराथन दौड प्रतियोगिता(तेस्रो संस्करण) आयोजना गरिने भएको छ ।
खप्तड क्षेत्रमा असार ३ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलाको अवसरमा खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिताको आयोजना गर्न लागिएको डोटी उद्योग वाणिज्य सङ्घले मङ्गलवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।
३ हजार ३ सय फिटको उचाइमा रहेको खप्तडको त्रिवेणी धाम देखि डोटीको सदरमुकाम शैलेश्वरी मन्दिरसम्मको ४२.१९६ किलोमिटरको दुरीमा म्याराथन प्रतियोगिता हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गत वर्ष सञ्चालन भएको म्याराथन दौड प्रतियोगितामा २ विदेशी सहित ४८ जनाले सहभागिता जनाएका थिए ।
प्रथमलाई एक लाख, दोस्रो हुनेलाई ७० र तेस्रोलाई ४० हजार नगद पुरस्कार राखिएको छ । यस वर्ष सोही सोही पुरस्कार लाई निरन्तरता दिएको छ ।
सुदूरका चार जिल्ला डोटी, अछाम, बाजुरा र बझाङको सीमा क्षेत्रमा रहेको भू स्वर्गको उपमाले परिचित खप्तड क्षेत्रमा शुक्ल पक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्दछ सोही अवसरमा खप्तड शैलेश्वरी खुला म्याराथन प्रतियोगिता (पुरुष र महिला)का साथै खप्तडमा भलिबल, देउडा, घोडा दौड प्रतियोगिताको आयोजना गरिने समेत सङ्घका अध्यक्ष विक्रम साउँदले बताए । प्रतियोगितामा सहभागिता हुन चाहने धावकले नेपाली सेनाको भैरव प्रसाद गण सिलगढीमा अनलाइनमार्फत फर्म भर्न सक्ने जनाएको छ ।