गणेश मौनी,वैशाख २९, डोटी :डोटीमा होटेल, रेस्टुरेन्ट, क्यान्टिन होमस्टे, सञ्चालकहरूलाई खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीले आर्थिक वर्ष २०८०÷८१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिमको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका निमित्त प्रमुख खाद्य निरीक्षक सागर सापकोटाले बताए ।
एक दिने कार्यक्रम नेपालमा खाद्य जोखिम र फुड पोइजनिंगको स्थिति र वर्तमान अवस्था, स्थानीय तहको भूमिका, लेबलिङ
र प्याकेजिंङ खाद्य सामाग्री खरिद गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा कार्यपत्र प्रस्तुत गरी छलफल गरिएको खाद्य निरीक्षक सापकोटाले बताए ।
त्यस्तै कार्यक्रममा खाद्य स्वच्छता र खाद्य ऐनका बारेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका खाद्य प्राविधिक रमेश कोइरालाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्र प्रस्तुतीकरण पश्चात् सहभागीहरूले खाद्य स्वच्छताको बारेमा आम नागरिक सचेत हुन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा डोटी जिल्लाका सबै स्थानीय तहका होटेल, रेस्टुरेन्ट, क्यान्टिन, होमस्टे सञ्चालन सहित होटेल व्यवसायी सङ्घका पदाधिकारी गरी ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । तालिम दिपायल स्थित होटेल रिभर साइडमा सञ्चालन गरिएको थियो ।