Sujang

डोटीमा प्रधानन्यायाधीश विश्वम्भप्रसाद श्रेष्ठको नागरिक अभिनन्दन

बैशाख ३ गते ,डोटी :सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको गृहजिल्ला डोटीमा नागरिक अभिनन्दन गरिएको छ ।

 

प्रधानन्यायाधीश श्रेष्ठलाई प्रसिद्ध मन्दिर शैलेश्वरीको प्रांगणमा आइतबार एक समारोहबीच नागरिक अभिनन्दन आयोजना गरिएको हो । जिल्ला सदरमुकाम सिलगढी बजारमा नगर परिक्रमा गराउँदै सांस्कृतिक झाँकीका साथ दोसल्ला, मायाको चिनो र खादाले अभिनन्दन गरिएको थियो । अभिनन्दन समारोहमा सर्वसाधारणदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी, नागरिक संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

समारोहमा सम्बोधन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका सुधारका सकारात्मक संकेत र उपलब्धिहरु देखा पर्दै गएको बताए । उनले न्यायपालिकाको जिम्मेवारी सम्हालेदेखि नै स्वतन्त्र, निष्पक्षपूर्वक जिम्मेवारी निर्वाह गरिरहेको दाबी गर्दै नेपालको संविधानले प्रत्याभूति गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यता अक्षुण राख्ने प्रतिबद्धता जनाए ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रभावकारी न्याय कायम राख्न क्रियाशीलहुनु आफ्नो दायित्व र भूमिका रहेको भन्दै न्यायपालिकाप्रति जनताको अपेक्षा पूरा गर्न लागिपरेको बताए ।

व्यावसायिक जीवनको उतरार्द्धमा गृह जिल्लामा पाइएको माया र सम्मानले आफूलाई खुसी लागेको बताए । चैत २८ गते डोटी आइपुगेका श्रेष्ठले उच्च अदालत दिपायल, जिल्ला अदालत डोटी लगायतको निरीक्षणसमेत गरेका थिए । पुर्ख्यौली घर सिलगढी डोटी रहेका श्रेष्ठ २०८० भदौ ४ गते प्रधानन्यायाधीशमा नियुक्त भएका थिए ।

 

दिपायल सिलगढी नगरपालिका प्रमुख बाजीसिं खड्काले सर्वोच्च अदालतको नेतृत्व तहमा पुग्ने डोटेली पाउनु आफैमा गौरवान्वित महसुस भएको बताउँदै जिल्लाको समृद्धि र विकासमा सबैले एकजुट हुन पर्नेमा जोड दिए । ‘आ-आफ्नो क्षेत्रबाट पुर्ख्यौली थलोलाई योगदान गर्ने हो भने डोटीको विकास त्यसै हुन्छ,’ पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले भने, ‘अरुको मुख ताकेर प्रगति हुँदैन, डोटेलीले नै डोटीका लागि चिन्ता, चासो राख्नु पर्छ ।’

Salmuni
Leave A Reply

Your email address will not be published.