डोटी, चैत २६: दिपायलमा सञ्चालन गरिएको किशोरीहरूका लागि ३ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा सञ्चालन गरिएको तालिम एक कार्यक्रमका बिच सोमबार सम्पन्न गरिएको हो ।
तालीमको समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिए। आत्म विश्वास र दृढ इच्छा शक्तिका साथ अगाडी बढेर समाज परिवर्तन गर्न सहभागीहरूको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । गाउँ समाजमा रहेका सामाजिक कुरुतीका विषयमा आवाज उठाउन तालीममा सहभागीलाई संयोजक सिंहले अनुरोध गरे। कार्यक्रम प्रभावकारी भएकोले निरन्तरता दिन सिंहले जोड दिए।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख स्मृति चुनाराले तालीमले विभिन्न ठाउँमा खबरदारी गर्न सहयोग पुग्ने बताइन् । वडा र गाउँपालिकामा भएका राम्रा र नराम्रा गतिविधिहरूलाई बाहिर ल्याउन तालिमका सहभागीलाई उप संयोजक चुनाराले अनुरोध गरिन् ।
त्यस्तै कार्यक्रममा बोल्दै निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घाराज उपाध्यायले स्थानीय सरकार गठन पछि अभिभावकका रूपमा स्थानीय सरकारले कार्य गरिरहेको बताउँदै तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए । सिकाई हाम्रो पूर्ण नहुने भएकोले देखाएको बाटोमा निरन्तर रूपमा अगाडि बढ्न जोड दिए।
बोगटान फुड्सिल गाउँपालिका उपाध्यक्ष बिस्ना देउवा बमले महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिला, किशोरीहरु लगायतका क्षेत्रमा निरन्तर रुपमा कार्यक्रम गर्दै आईरहेको बताईन् ।
तालिमको समापन कार्यक्रममा बोल्दै आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले यस्ता किसिमका तालीमलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने बताइन् । यस्ता कार्यक्रमलाई सबै स्थानीय तहले अगाडी बढाउनुपर्नेमा उपाध्यक्ष रोकायले जोड दिइन् । सिकेको कुरालाई ब्यहारमा उतार्न सहभागीहरुलाई उपाध्यक्ष रोकायले सुझाव दिइन् । अहिले पनि गाउँका आम दिदिवहिनिहरुका आवाज बाहिर आउन नसकेकाले यस तालिममा सहभागीले गाउँमा लुकेका तथा पिडामा परेकाहरूको आवाज आउनेमा आफू आशावादी रहेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश सदस्य वन्दना बम र प्रशिक्षक रामहरि ओझाले तालिममा सिकेका कुरालाई व्यवहार लागु गर्न सुझाव दिए । पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताए ।
सहभागीको तर्फबाट बोल्दै यशोदा ताम्राकार र पवित्रा विष्टले तालीम निक्कै जीवन उपयोगी भएको बताइन् । तालीममा सिकेका कुरालाई व्यवहार उतार्ने प्रतिबद्धता व्यक्त गरिन् । यस्ता तालीमलाई स्थानीय सरकारले निरन्तरता दिँदै जानुपर्ने जोड दिइन् ।
सहयोग गर्ने आदर्श र बाेगटान फुड्सिल गाउँपालिकालाई समापन कार्यक्रममा सम्मान समेत गरिएको थियो।
त्यस्तै मुख्य प्रशिक्षक रामहरि ओझा ,प्रशिक्षक वन्दना बम , रश्मि खडायत कुँवर र रामदुलारी रानालाई सम्मान प्रमाणपत्र दिइएको थियो ।
तीन दिने तालीममा उत्कृष्ट सहभागीका रूपमा यशोदा ताम्राकार र पवित्रा विष्टलाई सम्मान स्वरूप डायरी वितरण गरिएको थियो।
सहभागी सबै प्रमाणपत्र समेत वितरण गरिएको छ ।
पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा विगत देखि निरन्तर काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि स्थानीय सरकारको सहयोग यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । तीन दिनको तालीममा सिकेका कुरालाई व्यवहारमा उतार्न अध्यक्ष शाहीले सबैमा अनुरोध गरे ।
तीन दिन सम्म सञ्चालन गरिएको तालिममा आदर्श गाउँपालिका र बोगटान गाउँपालिका गरी जम्मा २४ जनाको सहभागिता रहेको थियो ।