

चैत २३ गते ,डोटी : दिपायलमा किशोरीहरूका लागि ३ दिने उद्घोषण तथा आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
शनिवार आदर्श गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ डोटी शाखाको आयोजनामा तालिम सुरु गरिएको हो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै आदर्श गाउँपालिका उपाध्यक्ष लक्ष्मी धामी रोकायाले तिन दिनको तालिममा दृढ इच्छा शक्तिका साथ सिक्न सहभागीलाई अनुरोध गरिन् । विगतमा पत्रकारिताको क्षेत्रमा काम गर्दै आज आएर जनप्रतिनिधि भएर जनताको सेवा गर्दै आएको बताउँदै पत्रकारिता क्षेत्रमा महिलाहरूको सङ्ख्या कम रहेका वेला तालिमले पत्रकारितामा किशोरीहरूको सङ्ख्यामा वृद्धि गर्ने उनले विश्वास व्यक्त गरिन् ।
अहिले पनि गाउँका आम दिदिवहिनिहरुका आवाज बाहिर आउन नसकेकाले यस तालिम पछि सहभागीले गाउँमा लुकेका तथा पिडामा परेकाहरूको आवाज आउनेमा आफू आशावादी रहेको उनले बताइन् । आगामी दिनमा यस्ता प्रकारका तालिमलाई स्थानीय सरकारले निरन्तरता दिँदै जाने उनले बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदूर पश्चिम प्रदेश सदस्य द्वय राम दुलारी राना , वन्दना बमले पत्रकारिता क्षेत्रमा चुनौती सँगै सम्भावना पनि उत्तिकै रहेको बताइन् ।
जिल्लामा महिला पत्रकारहरूको सङ्ख्या कम भएकाले पत्रकारीताका तालिमले पत्रकार महिलाहरूको सङ्ख्यामा बढ्ने पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाहीले बताए । पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा विगत देखि निरन्तर काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिँदै जाने बताए ।
उद्घाटन सत्रमा स्वागत मन्तव्य महासंघका कोषाध्यक्ष चक्र कुँवरले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव पवन महराले गरेका थिए ।
तालिममा आदर्श गाउँपालिका र बोगटान गाउँपालिका गरी जम्मा २४ जनाको सहभागिता रहेको छ ।

