बिक्रम खड्का ,फागुन २३ सिलगढी: “महिलामा लगानी सभ्य समुन्नत समाजको थालनी,, भन्ने उद्देश्यका साथ ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस डोटीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार दिपायल सिलगढी नगर पालिकाको आयोजना तथा जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाहरूको सहकार्यमा इन्द्रचोकी देखि र्याली सहित सभामा परिणत हुँदै सिलगढीको टुडिखेलमा कार्यक्रमको आयोजना गरिएको हो ।
दिपायल सिलगढी नगर पालिकाका नगर उप-प्रमुख कलापती महर साउँदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण सिंह रहनु भएको थियो ।
पछिल्लो समयमा जिल्लामा कार्यरत विभिन्न संघ संस्थाका कारणले महिलाको जीवनस्तरमा केही परिवर्तन आए पनि धेरै कुरामा परिवर्तन आउन बाँकी रहेको दिपायल सिलगढी नगरपालिका – ४ की स्थानीय दुर्गा नेपालीले बताइन् । दलित र गैर दलितका बिचमा हुने छुवाछुत केही मात्रामा हटे पनि पुरुष र महिलाले पाउने ज्यालामा एकरूपता आउन नसकेको उनले बताइन् ।
एककाइसौँ शताब्दी सम्म आइपुग्दा पनि महिला र पुरुषले पाउने ज्यालामा विभेद रहेको दिपायल सिलगढी नगर पालिकाका उप प्रमुख कलावती महर साउँदले बताइन । महिलाले आफ्नो अधिकार पाउनका लागी महिलाहरू नै बढी सक्रिय हुनुपर्ने उनले बताइन् ।
सामाजिक,आर्थिक, शैक्षिक,राजनीतिक,प्रशासनिक लगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा महिलाको पहुँच न्यून रहेको जिल्ला सम्वनय समितिका प्रमुख समन्वय प्रमुख सिंहले बताए ।
महिला हक,अधिकार र सशक्तीकरणका लागि विभिन्न गैर सरकारी सङ्घ संस्था तथा सरकारी निकायहरूले सशक्त रूपबाट काम गरिरहेपनि महिलाहरूको जीवन स्तरमा सोचेजती परिवर्तन आउन नसकेको उनको बताए ।
अहिले पनि समाजमा महिला र पुरुष बिच ठुलो विभेद रहेको कार्यक्रममा सहभागी महिलाहरूको भनाइ रहेको छ ।
दिवसका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए ।
नेपालको संविधानमा समेत महिला सम्बन्धी हक समेत सुनिश्चित गरिएको छ। नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।