

असोज ९ – सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ। सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडेका छन्। सरकारी पक्षसँगको १० बुँदे सहमति भएको डा. केसीले अनसन तोडेको केसीका सहयोगी प्रितम सुवेदीले बताए।
सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चाैधरीकाे हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट डा. केसीले हस्ताक्षर गरेका छन्।
डा. केसीले गत भदौ २७ गतेबाट धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा २०औं आमरण अनसन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो।
सेती अस्पतालले उनको स्वास्थ्य समस्या बढ्दै गएको बताएपछि काठमाडौंको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो।
तोकिएको दरबन्दीअनुसार चिकित्सक खटाउने सहमति भएको छ। यस्तै स्थानीय तहले निःशुल्क खरिद गर्नुपर्ने औषधिहरू प्रकृया पुर्याएर खरिद गर्ने विषयमा पनि सहमति भएको छ। गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कार्य अघि बढाउने विषयमा समेत सहमति भएको छ।
देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी तत्काल हालको बेड संख्या अनुसार बढाउनुपर्ने, जनसंख्याको वृद्धि अनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूको निर्माण, स्तारोन्नति र गुणस्तरको वृद्धि सुनिश्चित गरिनुपर्ने, संविधानले सबैका लागि निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरेकाले सरकारी अस्पतालमा टिकट, ल्याब परीक्षण र एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाका लागि शुल्क लिन निषेध गरिनुपर्ने लगायत माग अघि सार्दै डा.केसी अनसन बसेका थिए। सरकार र डाक्टर केसी संग भएको सहमति पत्र
