Sujang

राष्ट्रिय शिक्षा पुरस्कारबाट डोटीका ३ शिक्षक सम्मानित

मोहन शाही ,डोटी-राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल सरकारले डोटीका ३ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित गरेको छ ।

सम्मानित हुनेमा सामुदायिक विद्यालयका तर्फबाट शिखर- १ कपल्लेकी स्थित केदारेश्वर माविका प्रधानाध्यापक गगन सिंह कार्की, विश्वविधालयका प्राध्यापकहरूमध्यबाट डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशी र निजी विद्यालयका तर्फबाट सुजंग बोर्डिङ इङ्लिस स्कुलका प्रधानाध्यापक मान बहादुर कठायत रहेका छन् ।

कफल्लेकी माविलाई जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित गर्न अहम् भूमिका खेलेका कार्की देशभरमै नमुना शिक्षकका रूपमा परिचित छन् । कडा परिश्रम, कठोर अनुशासन र पारिवारिक वातावरणले नै शिक्षाको ज्योति फैलाउन सकिन्छ भन्ने धारणा राख्दै आएका प्रधानाध्यापक कार्की विगत २० वर्षदेखि शिक्षण पेसामा संलग्न छन् । शिक्षक कार्की विभिन्न पटक जिल्लामा उत्कृष्ट विद्यालय रूपमा कपल्लेकी माविलाई पुरस्कृत गराउन सफल भइसकेका छन् ।

शालीन, भद्र र इमानदार प्राध्यापकका रूपमा परिचित डोटी बहुमुखी क्याम्पस प्रमुख दिलानन्द जोशी तीन दशकदेखि शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । दार्चुला सङ्करपुर घर भएका जोशीले २०५० साल भदौबाट डोटी बहुमुखी क्याम्पसबाटै शिक्षण सुरु गरेका थिए । २०७७ साउन ११ गतेबाट क्याम्पस प्रमुखको जिम्मेवारी सम्हालेका जाेशीले भूगोल विषयवाट स्नाकोत्तर गरेका छन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका सुजंग बोर्डिङ स्कुलका प्रधानाध्यापक मान बहादुर कठायत दिपायल सिलगढी नगरपालिका वडा नं. ४ कुमालीकोटका बासिन्दा हुन । ०६३ सालबाट सुजंग स्कुलमा शिक्षण पेसा अँगाल्दै आएका कठायत सामूहिक कार्य, शिक्षण पेसामा निरन्तरता र शिक्षण कलाले विद्यालयलाइ उत्कृष्ट बनाउन सफल भएको बताउँछन् । एसइई परीक्षामा २०७० देखि २०७९ सम्म निरन्तर ९ पटक जिल्लाकै टप नतिजा ल्याइरहेको सुजंग स्कुलले सुदूरपश्चिममा पनि थुप्रै पटक उत्कृष्ट नतिजा ल्याइसकेको छ ।

शिखर नगरपालिका नगरप्रमुख दीर्घ बहादुर बलायरले प्रधानाध्यापक कार्की सम्मानित हुनुभएकोमा खुसी व्यक्त गर्दै उहाँ नगरपालिकाकै सान रहेको प्रतिक्रिया दिए। दिनप्रतिदिन सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्दै गएका बेला केदारेश्वर माविको गुणस्तर, व्यवस्थापन र अनुशासन प्र अ कार्कीको नेतृत्वमा कायम रहेको बताए । वडाध्यक्ष दीपक बोगटीले प्र अ कार्कीको संर्घषमय जीवनलाई नेपाल सरकारले उचित मूल्याङ्कन गरेको बताए ।

उता सुजंग स्कुलका निर्देशक नरेश बलायर प्र अ कठायत अत्यन्तै मेहनती र चुस्त व्यवस्थापक रहेकाले नै निरन्तर जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँछन् । सम्मानित भएकोमा खुसी व्यक्त गर्दै बलायरले उहाँलाई गरेको सम्मानले विद्यालयलाई नै गौरव महसुस भएको बताए ।

‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाउँदै सरकारले विभिन्न विधामा शिक्षकहरूलाई सम्मान गरेको हो ।

सरकारले बर्सेनि राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रत्येक प्रदेशबाट सामुदायिक र निजी विद्यालयका ५/५ जनालाई सम्मान गर्दै आएको छ ।

शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि देशभर ९६३ जनाको नामावली समेत सार्वजनिक गरेको छ ।

यस पटक ९०५ जनालाई नेपाल विद्या भूषण प्रदान गरिंदैछ । त्यसमध्ये ७९० जनालाई नेपाल विद्या भूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ ।

साथै ४६ जनालाई नेपाल छात्रा विद्या पदक प्रदान गरिँदै छ । जसमा नेपाल छात्रा विद्या पदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।

यस्तै, ११ जनालाई नेपाल प्रविधि विद्या भूषण प्रदान गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.