Sujang

पत्रकार महासंघद्धारा प्रशासनको ध्यानाकर्षण

राज पार्की ,डोटी-पत्रकारहरूमाथि सामाजिक सञ्जाल मार्फत गरिएको दुव्र्यवहार र आक्रमणले पत्रकारहरु असुरक्षित रहेको भन्दै पत्रकारहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ डोटी शाखा र जिल्ला स्थित पत्रकारहरुका पेशागत संगठनले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल र प्रहरी उपरिक्षक राजेन्द्र प्रसाद धमलालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । जिल्ल्लाका जिम्मेवार व्यक्तिहरुले सामाजिक संजाल मार्फत श्रृखंलाबद्ध रुपमा पत्रकारहरुलाई गाली गलौज र तुच्छ शव्द प्रयोग गरेको प्रमाण सहित प्रशासनको ध्यानाकर्षण गराएको नेपाल पत्रकार महासंघ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताउनु भयो ।

आइतबारमात्रै महासंघ र पत्रकारहरुका विभिन्न वैचारिक संगठनहरुले सामाजिक संजालमा मर्यादित हुन भन्दै प्रेस विज्ञप्ति जारी गरेको थियो । विज्ञप्ति आइसकेपछि पनि उल्टै लाञ्छना लगाइरहने, संगठीत रुपमा धम्कीपूर्ण अभिव्यक्ति आइरहेकाले पत्रकारहरु पत्रकारहरु मानसिक र भौत्तिक रुपमा असुरक्षित रहेकाले प्रशासनलाइ ध्यानाकर्षण गराइएको अध्यक्ष शाहीले बताए ।

सामाजिक सञ्जालमा पत्रकारिताको मानमर्दन हुने गरी जिल्ला समन्वय समितिका पूर्व संयोजक एवं नेकपा एमालेका नेता राम बहादुर ऐर, दिपायल सिलगढी नगरपालिकाका पूर्व मेयर एवं नेकपा एमालेका जिल्ला कमिटी उपाध्यक्ष मञ्जु मलासी, बोगटान फुड्सिल गाउँपालिकाका पूर्व उपाध्यक्ष नेकपा एमालेकी नेतृ भगवती बम, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी प्रचार तथा प्रकाशन विभाग सदस्य तथा डोटी विभाग प्रमुख झलक पाली, बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र सिराडी, फेसबुक प्रयोगकर्ता टेक बानिया लगायतले अभिव्यक्ति दिएका थिए । ‘नेतृत्वतहबाट आउने अभिव्यक्तिले कार्याकर्तातहमा बढ्दै गएको आक्रोसबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने बातावरण तयार पार्छ’, महासंघका अध्यक्ष शाहीले आग्रह गरेका छन्, ‘मर्यादित र संस्कारयुक्त समाज निर्माण गर्न प्रशासनले सहज वातावरण बनाइदिन ध्यानाकर्षण गर्दछौं ।’

‘आम समुदायले अपेक्षा प्रकट गर्नु स्वाभाविक हो । चित्त नबुझेको कुरामा रचनात्मक आलोचना, सुझाव सल्लाहको हामी सदैव स्वागत गर्दछौँ’, ध्यानकर्षण पत्रमा उल्लेख छ,‘ तर, पूर्वाग्रही भाव राखेर आफ्नो राजनीतिक अभीष्ट पुरा गर्न मिडिया प्रयोग नभइदिएको आक्रोश सहित मिडियामाथि पदीय मर्यादाको समेत ख्याल नगरी सिङ्गो पत्रकारितालाई नै बदनाम गर्नुले समाजको मनोविज्ञान र प्रबृतिकोस्तर समेत झल्काउँछ ।’

सामाजिक सञ्जालमा पत्रकारिताको मानमर्दन हुने गरीे पत्रकारहरूमाथि पूर्वाग्रह राखी तुच्छ र अमर्यादित शब्दहरू प्रयोग गर्न नहुने प्रेस सेन्टर डोटीका अध्यक्ष रोजेन्द्र जोशीले बताउनु भयो ।
सांगठनिक रूपमा पत्रकारमाथि गाली गलौच र धम्कि दिँदा पत्रकारहरू असुरक्षित रहेकाले पत्रकारहरूलाइ स्वतन्त्रपूर्वक समाचार लेख्ने र प्रकाशन गर्ने बातावरण बनाउन प्रशासनको ध्यानाकर्षण गराएको डोटी शाखाले जनाएको छ ।

केन्द्र, प्रदेश समितिबाट पनि विज्ञप्ति जारी
त्यस्तै सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहार र आक्रमण विरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, सुदूरपश्चिम प्रदेश समिति र प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिले पनि विज्ञप्ति जारी गरेका छन् । महासंघका केन्द्रीय महासचिव रोशन पुरीले सामाजिक प्रतिष्ठा र चरित्रमा समेत ठेस पुग्ने यो अभिव्यक्ति तत्काल फिर्ता लिई प्रेसको संवैधानिक व्यवस्थाको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव रामसिं ठगुन्नाले सामाजिक सञ्जालमा सिङ्गो पत्रकारितालाई नै बदनामित गर्नुले समाजको मनोविज्ञान र प्रवृत्तिको स्तर झल्काएको बताए । उनले धाक धम्कीको निन्दा गर्दै तत्काल संवैधानिक अधिकारको सम्मान गर्न आग्रह गरेका छन् ।
त्यस्तै प्रेस युनियन सुदूरपश्चिम प्रदेश समितिका महासचिव हरिस भट्टले पनि प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा प्रकट गरेका छन् । तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै महासचिव भट्टले न्यायका लागि कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.