
डोटी: बास नेपाल डोटी शाखाले २४ औं अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा सरसफाइ गरेको छ । शनिबार प्रसिद्ध धार्मिक तथा पर्यटकीय मन्दिरका नामले चिनिने शैलेश्वरी मन्दिरमा बागेश्वरी असल शासन क्लबको शाखाले मन्दिर परिसरमा सरसफाइ गरेको हो ।
“दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सीप विकास” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसमा मन्दिर परिसर सरसफाइ कार्यक्रम गरेर मनाएको थियो ।
बास नेपाल जिल्ला शाखाले नेपाल सरकारले मान्यता दिएका हरेक दिवसहरूलाई विभिन्न कार्यक्रम गरेर यसरी नै जिल्लामा काम गर्दै आएको बास नेपाल जिल्ला शाखाका अध्यक्ष सरिता कठायतले जानकारी गराइन् । उनले भनिन्,’ युवाहरूले आफ्नो गाउँ ठाउँ,समाज र देश प्रति चिन्ता गरेनन् भने कसले गर्ने। त्यस कारण शाखाले जिल्लामा प्रत्येक दिवसमा विभिन्न तरिकाले कार्यक्रम गर्दै आइरहेको छ ।’
बास नेपाल ७७ जिल्लामै लागू भएको र सबै ठाउँमा यसरी नै काम गर्दै आइरहेको कठायतले बताइन् । बास नेपालले जिल्लामा युवाहरूलाई परिचालन गरेर विभिन्न रचनात्मक तथा सन्देश मूलक काम गरेकोले दिवसको उपलक्ष्यमा संस्थालाई जिल्ला युवा समिति डोटीले प्रशंसा पत्रले सम्मान गरेको उनले बताइन् ।

सरसफाइ कार्यक्रममा बास नेपाल सुदूरपश्चिम प्रदेशका सचिव गणेश मौनी, जिल्ला युवा समितिका संयोजक हेम केसी र जिल्ला शाखाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।